फागुन ५ गते उद्योगी व्यवसायीहरूले बैंकहरूविरुद्ध संयुक्त सडक आन्दोलन गर्ने

फागुन ५ गते उद्योगी व्यवसायीहरूका ९ वटा महासंघ र ३८ वटा संघहरूले बैंकहरूविरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन्। संघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरूका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरूले बैंकहरूविरुद्ध वृहत् संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको बताए।

व्यवसायीहरूले पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्न बाध्य भएको बताएका छन्। संयुक्त मूल संघर्ष समितिका संयोजक कटुवालले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उद्योगी व्यवसायीहरूमा रहेको सिण्डिकेटको अन्त्य र बैंकको ज्यादतीविरुद्ध सडक आन्दोलन घोषणा गर्न लागेको बताए।

समितिले लामो समयदेखि उद्योगी व्यवसायीहरूले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासीन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरू राख्न बाध्य हुनुपरेको जनाएको छ। संयुक्त मूल संघर्ष समितिका संयोजक कटुवालले उद्योगी व्यवसायीहरूको मागको सुनुवाइ सरकारले नगरेकाले व्यवसायीहरू पुनः सडक आन्दोलनमा जान बाध्य भएको बताए।

कटुवालले उद्योगी व्यवसायीहरूको लागि सरकार, राजनीतिक दल वा दलका नेताहरू कोही पनि जिम्मेवार नभएकाले ९ वटा महासंघ र ३८ वटा संघहरूले संयुक्त सडक आन्दोलन गर्न बाध्य भएको उल्लेख गरे। उनले पछिल्लो कोभिड महामारीलगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरूका कुनै पनि माग सम्बोधन नगरेको आरोप लगाए।

उनले उद्योग र व्यापारमा रहेको सिण्डिकेटको अन्त्य, सबै उद्योगी व्यवसायीहरूको पहुँचसहितको बैंकहरूको ज्यादतीविरुद्ध थप आन्दोलनका घोषणा गरिएको बताए। उनले फागुन ५ गते वृहत् र्‍यालीसहित सडक आन्दोलनमा सम्पूर्ण उद्योगी व्यापारीहरू उत्रने बताए।

उनले सम्पूर्ण मुलुकभरमा रहेका उद्योगी, व्यापारी व्यवसायी, सम्बन्धित सबै ऋणीहरूलाई आन्दोलनमा सहभागी हुन आग्रह पनि गरे। उनले बैंकहरूले देखाएको दादागिरीको अन्त्य र निश्चित उद्योगी व्यवसायीहरूको सिण्डिकेटको विरुद्ध एक पटक एक भएर बाहिर आएको स्पष्ट पारे।

उनले सडक आन्दोलन शान्तिपूर्ण हुने बताए। उनले फागुन ५ गतेको सडक आन्दोलन कुनै सत्ता प्राप्ति वा नेता बन्नका लागि नभई व्यवसायी र व्यापारीहरूको हितका लागि गर्न लागेको बताए।

उनले फागुन ५ गतेपछि पनि सरकारले व्यवसायीहरूको माग सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रमहरू गर्दै जाने बताए। उनले फागुन ५ गतेपछि पहिलो चरणमा सम्पूर्ण उद्योगी व्यवसायीहरूले बैंकिङ कारोबार बन्द गराउने बताए।

उनले त्यसपछि पनि राज्यले उद्योगी व्यवसायीहरूको माग सम्बोधन नगरे सबै व्यवसायको ताला चाबी सरकारलाई बुझाउने चेतावनी दिए। उनले सरकारलाई चाबी बुझाएपछि विदेश काम गर्न जान भिसा माग्ने बताए। उनले नेपालका उद्योग व्यापार गरेर गरिखाने अवस्थामा नभएको भन्दै बैंकहरूले सबैलाई सुकुम्बासी बनाउने अवस्था आएको बताए।

संयुक्त आन्दोलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, ग्रिल तथा स्टिल व्यवसायी महासंघ, कपडा तथा सिलाइ व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ र मोबाइल व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघले साथ दिएको छ भने महासंघमा आबद्ध ३८ वटा संघहरूले आन्दोलनमा सहभागिता जनाउने भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर