बजेट मध्यावधि समीक्षा : आकार दुई खर्ब ४४ अर्बले घटाइयो

सरकारले चालु आर्थिक वर्ष २०७९/०८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ। सरकारले बजेटको आकार दुई खर्ब ४४ अर्ब रुपैयाँ बराबरले घटाएको हो।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधि सभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिएका हुन्। चालु आवमा कुल सरकारी खर्च १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबर हुने सुरुवाती अनुमान रहेकोमा त्यसलाई घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ कायम गरिएको छ। बजेटको आधार १४ प्रतिशतले घटाइएको हो।

चालु खर्चतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ बराबर सुरुवाती विनियोजन थियो। त्यसलाई घटाएर १० खर्ब २१ अर्ब ९२ करोड रुपैयाँमा झारिएको छ। जुन सुरुवाती विनियोजनको ८६ दशमलव ३७ प्रतिशत बराबर हो। त्यसैगरी पुँजीगत खर्चतर्फ तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर तीन खर्ब १३ अर्ब ८५ करोड रुपैयाँमा झारिएको छ। जुन सुरुवाती विनियोजनको ८२ दशमलव ५१ प्रतिशत बराबर हो।

वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २१ करोड रुपैयाँ बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर दुई खर्ब १४ अर्ब २१ करोड रुपैयाँमा झारिएको छ। जुन सुरु विनियोजनको ९३ दशमलव ०५ प्रतिशत बराबर हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर