पर्दाफास टिप्पणी

विदेश सचिव क्वात्राकाे नेपाल भ्रमणमा देखियाे भारतको फरक कुटनीतिक अभ्यास

नेपालको दुई दिने औपचारिक भ्रमण सकेर भारतको विदेश मामिला मन्त्रालयका सचिव विनयमोहन क्वात्रा मंगलबार साँझ स्वदेश फर्किए। नेपाली समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणमा उनी सोमबार बिहान काठमाडौं आएका थिए।

विदेशसचिवको रूपमा पहिलो पटक नेपाल भ्रमणमा आएका क्वात्राले आफ्नो दुई दिने भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीत्रय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरे ।

उनले परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग सरकारी भेटघाट र विषयगत छलफल गरे ।

यस्तै पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, परराष्ट्रमन्त्री जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलगायतसँग भेटवार्ता गरेका थिए।

उनले खाण र त्रिपाठीसँगको भेटमात्र उनी बसेको होटलमा भएको थियो । खाण र त्रिपाठीसँग क्वात्रा नेपालमा भारतका लागि राजदूत रहेका समयको निकटता भेटको प्रमुख कारण थियो ।

क्वात्राका सबै भेट सामुहिक थिए । उनले सबैलाई भेटदा दुबै तर्फका सम्बन्धित प्रतिनिधि उपस्थित थिए ।

नेपालमा प्रधानमन्त्री ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन भएपछि भारतबाट भएको यो पहिलो उच्च तहको भ्रमण थियो। त्यसैले क्वात्राको यस भ्रमणलाई विशेष चासो र महत्त्वका साथ हेरिएको थियो। नेपालमा यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। नेपालको राजनीतिमा भारतको विशेष प्रभाव रहने गरेको टिप्पणी गरिन्छ। धेरैको आकलन थियो क्वात्राले राष्ट्रपतिको उम्मेदवारबारे भारतका तर्फबाट धारणा राख्लान्। तर, उनको भ्रमणमा यस विषयले प्रवेश नै पाएन। उनको भ्रमण लगभग औपचारिकतामै सीमित रह्यो।

भारतले नेपाली पक्षले राष्ट्रपति निर्वाचनकाे विषय उठान गरेमा सायद क्वात्राले यस विषयमा भारतकाे धारणा राख्थेहाेला । तर, उनका भेटघाटमा याे विषयले दुबै पक्षबाट कुनै स्थान पाउन सकेन् ।

क्वात्रा प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन आएको भनिए पनि त्यसो भएन। प्रचण्डको अनुकूलता र राष्ट्रपति निर्वाचनपछिको स्थिर र पूर्ण सरकारका प्रधानमन्त्रीलाई निमन्त्रणा दिने मनसायले यस विषयलाई पछि सारिएको छ।

क्वात्राले यस भ्रमणमा जजससँग भेटवार्ता गरे तिनमा अपरिचित अनुहार कोही पनि थिएनन्। कारण, विदेशसचिवको रूपमा उनको यो पहिलो नेपाल भ्रमण भए पनि उनी त्यसअघि नेपालका लागि भारतीय राजदूत थिए।

अन्तर्मुखी स्वभावका क्वात्रा उच्चस्तरीय भेटवार्तामा मुस्कानका साथ सहाभागी हुनुलाई धेरैले शंकाको दृष्टिकोणले हेरेका छन्।  क्वात्राको नेपाल भ्रमणमा विशेष चासोका साथ हेरिएको अर्को विषय हो, जनता प्रगतिशील पार्टीका नेता हृदयेश त्रिपाठीसँगको भेट। किनकि सबैजसो भेटवार्ता सामूहिक रूपमा गरेका क्वात्राले त्रिपाठीसँग भने एक्लै भेटेका थिए।

क्वात्रा काठमाडौं ओर्लेलगत्तै होटल याक एण्ड यतीमा दुई देशका परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक बसेको थियो।

काठमाडौंस्थित भारतीय राजदूतावासका अनुसार दुई परराष्ट्रसचिवबीच सो बैठकमा विकास साझेदारी, ऊर्जा सहकार्य, व्यापार तथा आर्थिक सहकार्य, संस्थागत सम्पर्क र जनता-जनताबीचको सम्बन्धलगायत भारत र नेपालबीचको बहुआयामिक सहयोगका विविध पक्षबारे व्यापक छलफल भयो।

गत वर्ष प्रधानमन्त्रीको भ्रमणका क्रममा अन्तरदेशीय कनेक्टिभिटी, जलविद्युत सहयोग, संस्कृति, व्यापार तथा वाणिज्यलगायत विविध क्षेत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा भएको प्रगतिको पनि दुवै परराष्ट्रसचिवले समीक्षा गरे। रेलमार्ग कनेक्टिभिटीको सम्बन्धमा दुवै पक्षले जयनगर(कुर्था(बिजलपुर(बर्दिबास र जोगबनी(विराटनगर रेल परियोजनाका बाँकी खण्डको निर्माण चाँडै सम्पन्न गरी सञ्चालनमा ल्याउने सहमति जनाए। साथै दुई पक्षबीच प्रस्तावित रक्सौल(काठमाडौं रेल परियोजनालाई अघि बढाउन आवश्यक पर्ने प्रक्रियागत कार्यलाई द्रुत रूपमा अगाडि बढाउने सहमति भयो।

दुवै पक्षले गत वर्ष ऊर्जा सहकार्यमा भएको प्रगतिको चर्चा गरे जसअन्तर्गत नेपाल अहिले ४५२।६ मेगावाट विद्युत् भारततर्फ निर्यात गर्न सक्षम भएको छ। यसले भारतलाई बिजुली प्रदान गरेको छ भने नेपालमा थप राजस्व स्रोतको सिर्जना गरेको छ। नेपाली पक्षले दीर्घकालीन रूपमा भारततर्फ विद्युत् निर्यातका लागि मार्गप्रशस्त गर्न भारतीय पक्षसँग अनुरोध गर्‍यो। भारत र नेपालबीचको ऊर्जा व्यापारलाई थप सुदृढ बनाउन विनिमय बजारका सबै उत्पादनलाई उपयोग गर्न पनि नेपाली पक्षले भारतलाई अनुरोध गर्‍यो। भारतीय पक्षले नेपाली पक्षबाट भएको दुवै अनुरोधलाई जानकारीमा राखेको दूतावासले जनाएको छ।

सन् २०२२ अप्रिलमा भारत र नेपालबीच भएको ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्रको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै दुई देशका परराष्ट्रसचिवले उपक्षेत्रीय सन्दर्भमा पारस्परिक लाभकारी सहकार्यका लागि हातेमालो गर्ने सहमति पनि जनाए।

विश्वमा व्याप्त कठिनाइको समयमा नेपालमा कृषि उत्पादनको सहज आपूर्तिलाई सुनिश्चित गर्न विशेष गरी नेपालका लागि भनेर चिनी, गहुँ र धानको निर्यातमा भारतले गरेका विशेष व्यवस्थालाई नेपाली पक्षले सराहना गर्‍यो।

दुई परराष्ट्रसचिवबीच बहुपक्षीय र क्षेत्रीय सहकार्यका विषयमा पनि छलफल भयो। यस सन्दर्भमा भारतले यो वर्ष आफ्नो अध्यक्षतामा आयोजना हुने जी–२० फाइनान्स ट्«याकमा सहभागिताका लागि नेपाललाई दिएको निमन्त्रणाको नेपाली पक्षले प्रशंसा गर्‍यो। नेपाली पक्षले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको शीघ्र अनुमोदनका लागि प्रतिबद्धता व्यक्त गर्‍यो।

समग्रमा क्वात्राको सबै उच्चस्तरीय भेटघाटमा दुवै पक्षबीच दुई देशबीचको विशिष्ट सम्बन्धलाई अझ सुदृढ गर्ने र दुई देशका जनताको हितका लागि बहुआयामिक विकास सहयोगलाई विस्तार गर्ने उपायहरूबारे छलफल भएको दूतावासले जनाएको छ।

यो भारतमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी सत्तामा आएपछिको फरक शैली भनेर टिप्पणीगर्ने र क्वात्राको भ्रमणपछि नेपालमा आन्तरिक र स्वभाविक राजनीतिक उतारचढावमा दक्षिणलाई आलोचनाको केन्द्रमा राख्ने दुबै पक्ष यतिबेला तयारी अवस्थामा रहेको छ ।

तर, यसअघि नेपालमा भारतले अपनाउने रवैया र यसपटकको क्वात्रा भ्रमण निकै भिन्नता आएको उनका भेटघाटले पुष्टि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर