पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दैछ चिनियाँ ऋणको त्रास

गत १७ पुसदेखि सञ्चालनमा आएको पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गरेका छैनन् । चिनियाँ ऋण लगानीमा निर्माण गरिएको यो विमानस्थलमा आन्तरिक एयरलाइन्स कम्पनीले मात्र उडान गर्दै आएका छन् । गत १ माघमा यती एयरलाइन्सको विमान उक्त विमानस्थलमा अवतरण गर्नु केहीअघि सेती खोंचमा दुर्घटनाग्रस्त भएपछि विमानस्थलप्रतिको धारणा झनै बिग्रिएको छ ।

सरकारले गौरवको आयोजनाको रुपमा निर्माण गरेको यो विमानस्थल किन नामअनुसार सञ्चालन हुन सकेको छैन त ? यसको कारण हो, सरकारको पूर्वतयारीको कमी । हालै मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यो तथ्यलाई स्वीकार गरेका छन् ।

केही दिनअघि पोखरा विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उनले बल्ल पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताए । कुनै पनि आयोजनाको पूर्वतयारी प्रमुख हुन्छ । विमानस्थल निर्माण हुनुअघि नै यहाँ हुने उडानबारे पूर्वसम्भाव्यता अध्ययन हुनु जरुरी छ । तर, पोखरा विमानस्थलको सम्बन्धमा निर्माण सकिएपछि बल्ल उडानबारे तयारी र पहल गर्न थालेको छ ।

मन्त्री किराँतीकै अनुसार पनि पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीनका विभिन्न सहरसहित भारतका अन्य सहरमा सीधा उडानका लागि मन्त्रालयले छलफल गरिरहेको छ । ‘पोखरादेखि सीधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि चौतर्फी पहल गरेका छौँ, यही मितिदेखि भनेर भन्न नसके पनि अत्यधिक कोसिस मन्त्रालयले गरिरहेको छ, हाम्रोतर्फबाट यथाशक्य चाँडो गर्नुपर्दछ भन्ने धारणा छ,’ उनले भने ।

मन्त्रालयले बल्ल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा विमानस्थल कसरी चलाउन सकिन्छ भनेर कार्ययोजना ल्याउन निर्देशन दिएको छ । जब कि निर्माण अघि हुनुपर्ने यी काम हुन् । पोखराका पर्यटन व्यवसायीको छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग गर्दै आएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अर्को समस्या हो, चराचुरुङ्गी र जंगली जनावर । निर्माण सुरु अघि नै यो समस्या उल्लेख गरिए पनि त्यसलाइ नजरअन्दाज गरिएको छ । विमानस्थलको पूर्वी खण्डमा विजयपुर खोला र दक्षिणतिर सेती नदी पर्छ । विजयपुर खोला पार गर्नासाथ धावनमार्ग आइपुग्छ । तर यी दुवै खोला फोहोर हुँदा, मरेका जीवजन्तु फाल्दा आहारका लागि चरा आकर्षित हुन गरेका छन्, जुन विमानस्थलका लागि ठूलो चुनौती हो ।

यसले उडान र अवरणमा समस्या हुने विमानस्थलका कर्मचारी बताउँछन् । केहीदिन अघि अवतरणको क्रममा रहेको जहाजसँग चरा ठोक्किएको पनि थियो । विमानस्थल नजिकका झाडीमा स्यालको बिगबिगी छ । राति स्याल विमानस्थलमा पस्ने गर्दा रात्रिकालीन उडानमा समस्या हुन्छ ।

पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ । यसको २५ प्रतिशतको ब्याज तिर्नुपर्दैन । ब्याज तिर्नु नपर्ने रकम ३४ करोड ४६ लाख ८५ हजार युआन हुन आउँछ । बाँकी रकममा २ प्रतिशत ब्याज छ । यस ऋणमा ७ वर्षको ग्रेस पिरियड छ र कुल २० वर्षमा यो ऋण तिरिसक्नुपर्छ ।

ग्रेस पिरियड चाँडै सकिँदै छ । प्राधिकरणका अनुसार पहिलो किस्ता बापतको ५ करोड ३० लाख २८ हजार ४६१ युआन आगामी चैतमा तिर्नुपर्ने छ । दोस्रो किस्ता त्यसको ६ महीनापछि तिर्नुपर्छ । प्राधिकरणले एक्जिम बैंकको ऋण अर्धवार्षिक किस्तामार्फत चुक्ता गर्नुपर्छ ।

पोखरा जस्तो पर्यटकीय हबमा बनेको विमानस्थल भएकाले सरकारले यसबाट पर्याप्त लाभ लिनसक्ने सम्भावना पनि छ । तर, त्यसका लागि अहिले देखिएका तमाम समस्या समाधान गर्नु ठूलो चुनौती हुनेछ । पहिला विमानस्थल बनाइहाल्ने र त्यसपछि समस्या समाधान गर्नतर्फ लाग्ने अहिलेको प्रवृत्तिले भने यो आयोजना कतै ‘सेतो हात्ती’ त बन्ने होइन भन्ने आशंका पनि छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वसीईओ डा. गोविन्दराज पोखरेल पोखरा विमानस्थलको अन्तर्राष्ट्रिय÷आन्तरिक उडानको बृहत सम्भावनामा डरलाग्दो कालो बादल देखिएको बताउँछन् । व्यापारघाटा र सार्वजनिक ऋण निरन्तर बढ्दो अवस्थामा यो विमानस्थललाई गाह्रो पर्ने उनको भनाइ छ ।

हालको अवस्थाका कारण पनि पोखरा विमानस्थलकै आम्दानीबाट सरकारले ऋण चुकाउन सक्ला त भने आशंका पनि बढिरहेको छ । त्यसैले बढीभन्दा बढी उडान र कार्गो ढुवानीमा जोड दिनुपर्ने विश्लेषकहरुको भनाइ छ । भूगोल र विमानस्थलको अवस्थितिका कारण यहाँ करिब १५० सिटका एयरबस ३१९, एयरबस ३२० र बोइङ ५७५ बराबरकै क्षमताका विमानहरू मात्रै अवतरण गर्न सक्छन् । त्यसकारण पनि विमानस्थलबारे विभिन्न आशंकाहरु हुँदै आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर