भारतमा मालिकलाई बेहोश बनाएर चोरीपछि सुटुक्क नेपाल छिर्न खाेज्दा प्रहरीकाे फन्दामा

कञ्चनुपरमा शुक्रबार १५ लाख बढी भारतीय रुपैयाँ र गरगहनासहित पक्राउ परेका तीन जनाले भारतमा चोरी गरेको खुलेको छ।

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका–४ को आनन्दबजार नजिकैको कार्गिल डाँडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँ र गरगहनासहित सशस्त्र प्रहरीको गस्ती टोलीले उनीहरूलाई शुक्रबार बेलुका पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ बस्ने २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खड्कसिंह भुल र डडेल्धुराको आलिताल गाउापालिका–४ बस्ने २४ वर्षीय वीरेन्द्र सार्की छन्।

सशस्त्र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीका अनुसार भारतस्थित पञ्चाबको फत्तेगढमा आफू काम गर्ने ठाउँमा ती नेपाली नागरिकले चोरी गरेका थिए।

आलितालका २४ वर्षीय वीरेन्द्रको योजनामा चोरी भएको खुलेको उनले बताए। उनी एक वर्षअघि काम गर्नका लागि भारतको पञ्चाब गएका थिए। उनका मालिकको स्कुल पनि थियो। पञ्चावमा बिरेन्द्र चौकीदारीको काम गर्थे।

एक साता पहिले उनले पञ्चावमा योजनाबद्ध तरिकाले मालिकलाई बेहोस गरेर चोरी गरेका हुन। चोरीमा सघाउन बिरेन्द्रले केही महिना अघि मात्रै कामका लागि गोदावरीका अमर र खड्गलाई पनि बोलाएको खुलेको छ।

बिरेन्द्र लामो समयदेखि भारतमै काम गर्दै आएका थिए। उनीसँग भारतीय आधार कार्ड पनि छ। उनी लामो समयदेखि चोरीको घटनामा संलग्न रहँदै आएको खुलेको छ। मालिकले काम गरेको तलब नदिएकोले पैसा चोरेको उनीहरुले प्रहरी समक्ष बयान दिएका छन्।

उनीहरुको साथबाट नगद पैसासहित सुनको सिक्री, पाउजू, औँठी, मुन्द्रालगायत गरगहना बरामद भएकाे थियो। भारतीय प्रहरीसँग समन्वय गरेर प्रमाण सहित आएमा चोरीको पैशा र गरगहना फिर्ता गरिने प्रहरीले जनाएको छ।

२०७८ चैत्र ६ गते कैलालीको जानकी गाउँपालिका-६ जगतपुरका मीनबहादुर शाह पनि चोरीको आरोपमा समातिएका थिए।

शाह र उनकी श्रीमती भारतको हरियाणामा चोरीमा संलग्न थिए। चोरी गरेर शाह फरार भएपछि भारतीय प्रहरीले त्यहाँ रहेका अन्य नेपालीलाई पक्राउ गरेको थियो।

तिनै नेपालीका आफन्तले शाहलाई पनि भारतीय प्रहरीको हिरासतसम्म पुर्‍याएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर