चीनद्वारा जीएसआई सार्वजनिक, नेपालसँग पनि खोजेको थियो समर्थन

चीनले मंगलबार ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ’ (जीएसआई) रणनीति सार्वजनिक गरेको छ । विश्वमा अस्थिरताको अन्त्य र शान्ति तथा विकासलाई बढावाको लक्ष्यसहित चीनले उक्त रणनीति सार्वजनिक गरेको जनाएको छ ।

चिनियाँ विदेशमन्त्री छिन काङले सार्वजनिक गरेको रणनीतिमा चीन विश्व सुरक्षा पहलको ढाँचमा सभबै देश, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनको साथमा द्विपक्षीय र बहुपक्षीय सुरक्षा सहयोग गर्नका लागि तयार रहेको उल्लेख गरिएको छ ।

चीनले केही महिनाअघि उक्त रणनीतिमा सहभागी हुन नेपाललाई पनि आग्रह गरेको थियो । चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला विभागका महानिर्देशक लिउ जिनसङले चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठसँग १४ पुसमा बेइजिङमा भएको भेटवार्तामा जीएसआईको संयुक्त कार्यान्वयन प्रवद्र्धन गर्न नेपालसँग आग्रह गरेका थिए ।

भेटपछि चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी जीएसआईसँगै चीनको ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई) को कार्यान्वयन प्रवद्र्धन गर्न नेपालसँग आग्रह गरेको जनाएको थियो । चीनले नेपालको नयाँ सरकारसँग उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहयोगलाई अगाडि बढाउन, जीडीआई र जीएसआईको कार्यान्वयनलाई संयुक्त रूपमा प्रवद्र्धन गर्न चाहेको विज्ञप्तिमा जनाएको थियो ।

तर, राजदूत श्रेष्ठले चिनियाँ अधिकारीलाई नेपाल जीएसआईमा सहभागी नहुने जवाफ दिएका थिए । यद्यपि, परराष्ट्र मन्त्रालयको लापरबाहीका कारण ५ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले चाइनिज पिपुल्स एसोसिएसन फर पिस एन्ड डिसआर्मामेन्टले आयोजना गरेको जीएसआई सम्बन्धी कार्यक्रममा सम्बोधन गरेकी थिइन् । सुरक्षा सम्बन्धी कार्यक्रम भएकाले यसमा सम्बोधन गरेकोमा राष्ट्रपति भण्डारीको आलोचना भएको थियो ।

नेपालमा वामपन्थी दलको नेतृत्वमा सरकार गठन भएसँगै चीनले फेरि राजदूतसँग जीएसआईमा सहभागिताको लागि पहल गरेको हो । तर, नेपालजस्तो असंलग्न परराष्ट्र नीति भएको देशले जीएसआईमा सहभागिता जनाउन नहुने कूटनीतिविद्हरुले बताउँदै आएका छन् ।

के हो जीएसआई ?

चीनले अप्रिल २०२२ मा आयोजना गरेको बोआओ फोरम फर एसियाको वार्षिक कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङले यो रणनीति प्रस्तुत गरेका थिए । त्यही घोषणालाई अहिले चीनले ६ मुख्य सिद्धान्तसहित ‘कन्सेप्ट पेपर’ सार्वजनिक गरेको हो ।

विश्व शान्ति तथा सुरक्षाका लागि जीएसआई ल्याएको जिकिर चीनले गरे पनि वास्तवमा यो रणनीति अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक रणनीति (आईपीएस) र क्वाड (अमेरिका, जापान, अस्ट्रेलिया र भारत) समूहको विपक्षमा रहेको कतिपय मुलुक तथा विश्लेषकहरुको भनाइ छ ।

चीनले सार्वजनिक गरेको जीएसआईमा अन्तर्राष्ट्रिय द्वन्द्वको अन्त्य, विश्व सुरक्षा प्रशासनमा सुधार, शान्ति तथा स्थिरताका लागि संयुक्त अन्तर्राष्ट्रिय प्रयासमा प्रोत्साहन जस्ता विषयमा जोड दिइएको छ ।

जीएसआईका ६ मुख्य सिद्धान्त

–साझा, विस्तृत, सहकार्यमूलक र दिगो सुरक्षा अवधारणाप्रति प्रतिबद्ध रहँदै विश्व शान्ति र सुरक्षा कायम गर्न मिलेर काम गर्ने ।

–सबै देशहरूको सार्वभौमसत्ता र भूअखण्डताप्रति सम्मान गर्न प्रतिबद्ध रहने, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र विभिन्न देशका नागरिकले स्वतन्त्रतापूर्वक निर्णय गरेका विकासका पथ र सामाजिक प्रणालीलाई सम्मान गर्ने ।

–राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तप्रति प्रतिबद्ध रहने, शीतकालीन मानसिकतालाई अस्वीकार गर्ने, एकपक्षीयतावादको विरोध गर्ने र सामूहिक राजनीति वा समूहमार्फतको मूठभेडलाई अस्वीकार गर्ने ।

–सबै देशका वैधानिक सुरक्षा चासोलाई गम्भीरतापूर्वक लिन प्रतिबद्ध रहने, सुरक्षाको अक्षुण्णताको सिद्धान्तलाई सम्मान गर्ने, सन्तुलित, प्रभावकारी र दिगो सुरक्षा खाका निर्माण गर्ने र आफ्नो सुरक्षा अर्कोको सुरक्षालाई आँच आउने गरी अघि बढाउने कदमको विरोध गर्ने ।

–असमझदारी र विवाद शान्तिपूर्ण ढंगले वार्ता र छलफलमार्फत हल गर्ने, शान्तिपूर्ण रूपमा संकट समाधानका सबै प्रयासलाई समर्थन गर्ने, दोहोरो मापदण्डलाई अस्वीकार गर्ने र गलत ढंगले प्रयोग गरिएका एकपक्षीय प्रतिबन्ध र अदालती क्षेत्राधिकार प्रयोगको विरोध गर्ने ।

–परम्परागत र गैर परम्परागत क्षेत्रमा सुरक्षा कायम गर्न प्रतिबद्ध रहने र आतंकवाद, जलवायु परिवर्तन र बायोसेक्युरिटि जस्ता क्षेत्रीय विवाद र अन्तर्राष्ट्रिय विवादमा मिलेर काम गर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर