सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवनलाई अग्रता

सूर्य नेपाल गल्फ टुर-२०२२/२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटी २-अन्डर ६७ सहित शीर्षस्थानमा रहेका छन्।

पोखरास्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा भुवनले सञ्जय लामा र एमेच्योर खेलाडी प्रज्वल गुरुङलाई तीन स्ट्रोकले पछि पारे। सञ्जय र प्रज्वल १-ओभर ७० स्कोर गर्दै संयुक्त रूपमा दोस्रो स्थानमा छन्।

दलबहादुर लामा, रामे मगर र राष्ट्रिय टिमका सदस्य एमेच्योर खेलाडी सद्भाव आचार्यले २-ओभर ७१ सहित चौथो स्थान बाँडे। १३औं दक्षिण एशियाली खेलकुदका दोहोरो स्वर्ण विजेता एमेच्योर खेलाडी सुवास तामाङ र प्रो धनबहादुर थापाले ३-ओभर ७२ को स्कोर कार्ड बनाए। दुवै खेलाडी संयुक्त रूपमा सातौं स्थानमा छन्। यसैगरी ४-ओभर ७३ स्कोरका साथ नेपाल नम्बर एक शुक्रबहादुर राई, दिनेश प्रजापति, कमल तामाङ तथा एमेच्योर गल्फरहरू महेन्द्र फगामी र सुरेश तामाङ संयुक्त रूपमा नवौं स्थानमा छन्।

नेपालकै कठिन मानिने हिमालयन गल्फ कोर्समा सहभागी ४५ खेलाडीमध्ये भुवनले मात्र अन्डर पारमा खेल सकाए। पहिलो होलमा बोगीको सामना गरे पनि चौथो र छैटौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। यसपछि १०औं, १३औं र १७औं होलमा एक/एक सट बचाए भने १३औं र १६औं होलमा बोगी खेपे। उनले ब्याक नाइन १-अन्डर ३४ मा पूरा गरे। यसरी उनले दिनकै उत्कृष्ट २-अन्डरको स्कोर कार्ड बनाए।

सञ्जय लामाले दोस्रो होलको बोगीले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। यसपछि १५औं होलमा बर्डी प्रहार गरेपनि १६ औं होलमा एक सट खेर फल्दै ब्याक नाइन इभन-पार ३५ मा पुरा गरे। प्रज्वल गुरूङले राम्रो सुरुवात गर्दै चौंथो, पाँचौ र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे। आठौं होलमा बोगीको सामना गर्दा फ्रन्ट नाइन २-अन्डर ३२ को नतिजामा सकाए। ब्याक नाइनमा लय गुमाउँदा १२औं, १५औं, १६औं र १८औं होलमा चारवटा बोगी खेपे। १४औं होलको बर्डीले ब्याक नाइन ३-ओभर ३८ मा सकाए।

पहिलो दिनको खेलमा ९० वा सोभन्दा माथि स्कोर गरेका तीन एमेच्योर खेलाडी विदूर तामाङ, प्रकाश गुरुङ र जितेन्द्र राई प्रतियोगिताबाट बाहिरिएका छन्।

५४ होलको प्रतियोगितामा ३१ व्यवसायिक र १४ एमेच्योर गरी कुल ४५ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। ३६ होलको खेलपश्चात् उत्कृष्ट २१ प्रोफेसनल र कम्तीमा ६ एमेच्योरले अन्तिम १८ होलको लागि कट बनाउनेछन्। प्रोफेसनल गल्फर्स एशाेसिएशन नेपालको आयोजना र सूर्य नेपाल प्रा. लि.को प्रायोजनमा सञ्चालन भैरहरको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । कुल आठ लाख नगद पुरस्कार रहेको प्रतियोगिताको शीर्ष २१ मा रहने अन्य व्यवसायिक खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन्। शनिबार हुने प्रो-एमसँगै प्रतियोगिता सकिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर