फोरजी सेवा गुणस्तरीय बनाएपछि मात्रै फाइभजी लागू गर्न उपयुक्त : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभजी लागू गर्न उपयुक्त हुने बताएकी छिन् ।

उनले भनिन्, ‘मुलुक सूचना प्रविधिमा फड्को मार्नुपर्छ । त्यसको लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गरी आधारहरु खडा गर्नुपर्छ । फाइभजी सेवा लागू गरेपश्चात अर्थतन्त्रलगायत अन्य विषयमा कति लाभ हुन्छ भन्ने विषयको लेखाजोखा गर्न आवश्यक छ ।’

बिहीबार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभजी को चुनौती र आगामी बाटो’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले मुलुकमा फाइभ जी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँच समेत पुग्न नसकेको अवस्था रहेको बताइन् ।

उनले फोर जी सेवा बिस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै फोर जी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘काठमाडौं उपत्यकामा समेत फोरजी सेवा गुणस्तर छैन । यसलाई व्यवस्थित गर्ने गरेर मात्रै फाइभजीमा प्रवेश गर्न उपयुक्त हो । मुलुक सूचना प्रविधिमा फड्को मार्नुपर्छ । त्यसको लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गरी आधारहरु खडा गर्नुपर्छ । फाइभ जी सेवा लागू गरे पश्चात अर्थतन्त्र लगायत अन्य विषयमा कति लाभ हुन्छ भन्ने विषयको लेखाजोखा गर्न आवश्यक छ ।’

मन्त्री शर्माले फोरजी सेवा लागू गर्दा लागेको लागत अनुसार प्रतिफल भए,नभएको विषयमा अध्ययन गर्नुपर्ने बताइन् । उनले विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट हुने फाइदाको समीक्षा गर्न सकेनौं भने लाभ भन्दा नोक्शानी बढ्नसक्नेतर्फ सचेत हुन आवश्यक रहेको पनि बताइन् ।

उनले भनिन्, ‘फोरजी सेवामा कति लागत लगायौं र कति लागत उठ्यो भन्ने वास्तविक लेखाजोखा नगरी विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट के भयो भन्ने विषयमा समीक्षा गर्न सकेनौं भने लाभ भन्दा पनि नोक्शानी हुने जस्तो लाग्छ ।’

मन्त्री शर्माले नेपाल भौगोलिक रुपमा कठिन अवस्थामा रहेको भन्दै उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको स्वीकार गरिन् । उनले देशका धेरै भू–भागहरू इन्टरनेटको न्युनतम सेवा समेत नपुगेको बताइन् ।

उनले विभिन्न निकुञ्ज र जङ्गलको क्षेत्र समेत इन्टरनेट र फोनको पहुँच बाहिर रहेको भन्दै जङ्गलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भएमा सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या रहेको बताइन् ।

उनले भनिन्, ‘अझै पनि कतिपय स्थानमा टेलिफोन सेवा पुग्न सकेको छैन । उच्छ हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको छैन । निकुञ्ज र जङ्गलको क्षेत्र समेत इन्टरनेटको पहुँच बाहिर छन्।’

उनले सम्बन्धित निकायहरुलाई सबैभन्दा पहिला सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पुर्‍याउन निर्देशन दिइन् । मन्त्री शर्माले उपत्यकाको धेरै स्थानमा समेत सामान्य सेवा नपुगेको र हाईवेका धेरै ठाउँमा फोन नलाग्ने, टावर नै नआउने अवस्था रहेको बताइन् ।

‘ग्रामीण क्षेत्रमा डाँडामा टेलिफोनको टावर भएपनि खोजमा रहेको बस्तीमा टावर आउँदैन । गाउँपालिकाको कार्यालयमा फोन लाग्दैन फोरजीको विषय टाडाको कुरा हो । न्युनतम फोन लाग्ने अवस्था समेत छैन भन्ने गुनासोहरु आएका छन् ।’ उनले भनिन् ।

उनले फाइभ जी अघि सरकारले ठूलो लगानी गरेर फोरजीको पूर्वाधार तयार गरे पनि त्यो लगानी खेर जाने स्थिति रहेको बताइन् । उनले फोरजी राम्रोसँग नचल्दै फेरि फाइभजीमा लगानी गर्दा सरकारी लगानी खेर जाने अवस्था आउनसक्ने बताइन् ।

उनले विश्वमा आविष्कार भएको नयाँनयाँ प्रविधि आत्मसात गर्दै गर्दा उपभोक्ता र नेपालीको व्यक्तिगत विवरण सुरक्षा ग्यारेन्टीमा समेत ध्यान दिन आवश्यक रहेको बताइन् । उ नयाँ प्रविधि लागू गर्दा देशको अवस्था र विगतको लगानीलाई हेररे गर्नुपर्ने उनको जोड थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर