भाखा नाघेको ३० दिनभित्र कर्जाकाे सावाँ-ब्याज तिरेमा पेनाल ब्याज लिन नपाइने

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ॠणीले ॠणको भाखा नाघेको तीस दिनभित्र सावाँ र ब्याज भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेकोे एकीकृत निर्देशन, २०७९’ संशोधन गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

‘ॠणीले भुक्तान गर्नुपर्ने कर्जाको सावाँ र ब्याजको दायित्व भाखा नाघेको ३० दिनभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन पाइने छैन । यो व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको सावाँ र ब्याजमा मात्र लागू हुनेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । तर, कुनै ॠणीले छुट पाउने अवधिभित्र साँवा र ब्याज भुक्तानी नगरेमा बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज ॠणीसँग लिन सक्नेछन् ।

राष्ट्र बैंकले कर्जाको पुनःसंरचना र पुनःतालिकीकरणसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनमा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको दुई करोड रुपैयाँसम्मको कर्जालाई विभिन्न शर्त राखेर पुनःसंरचना र पुनःतालिकीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

‘दुई करोड रुपैयाँसम्मको कर्जालाई सम्बन्धित ॠणीको अनुरोधमा उद्योग, व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी एक पटकका लागि ॠणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असुल उपर गरी कर्जाको पुनःसंरचना तथा पुनःतालिकीकरण गर्न सकिनेछ,’ राष्ट्र बैंकले भनेको छ ।

यो सुविधा पाउन यस्तो पुनःतालिकीकरण र पुनःसंरचना २०८० असार मसान्तभित्र गरिसक्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ । त्यस्तै यसरी पुनःतालिकीकरण वा पुनःसंरचना गर्दा २०७९ पुस मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको हुनुपर्नेछ । पुनःतालिकीकरण वा पुनःसंरचना गरिएका कर्जालाई असल वर्गमा वर्गीकरण गरी एक दशमलव तीन प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *