आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गर्छौं : मन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्नेगरी काम शुरु गरेको बताएका छन्।

सोमवार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्।

उनले आफू स्वास्थ्य क्षेत्रको परिवर्तन गर्नकै लागि रोजेर स्वास्थ्य मन्त्रालयमा आएको दाबी गर्दै स्वास्थ्यमा भएका फोहोरलाई सफा गर्न आफू आएको बताए। उनले स्वास्थ्य मन्त्रालय आकर्षणको मन्त्रालय भए पनि स्वच्छ मन लिएर मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरु फर्किंदा दाग बोकेर फर्किने गरेको भन्दै स्वास्थ्य क्षेत्रको वास्तविक परिवर्तनका लागि आफू आएको बताए।

उने आफ्नो नाममा कसैले ब्ल्याकमेलिङ गरेर अन्य धन्दा गरेको भए सूचना दिन र त्यसलाई आफूले तत्काल कारबाही गर्ने बताए।

मन्त्री गिरीले आगामी आर्थिक वर्षसम्ममा कम्तिमा ५ लाख सम्मको स्वास्थ्य बीमा गर्ने तयारी अनुसार काम भइरहेको बताए। उनले अहिलेको स्वास्थ्य बीमाभित्र देशभरका मानिसहरु समेटिन नसक्ने भन्दै सेना, प्रहरी, सबै आम मानिस आउनेगरी स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको बताए।

उनले जस्तोसुकै दीर्घ रोगीहरुको निःशुल्क उपचार गर्नेगरी स्वास्थ्य पूर्वाधार निर्माण हुन जरुरी रहेको बताए। उनले उत्कृष्टता स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको भन्दै बीमा गराउनेहरु घरदैलो गरेर बीमा गराउँदै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने दाबी गरे।

मन्त्री गिरीले स्वास्थ्य सेवा ऐन छुट्टै ल्याउन आवश्यक सहयोग मन्त्रालयले गर्ने प्रतिवद्धता जनाए। उनले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको वृत्ति विकासका लागि स्वास्थ्यका सबै राजमार्ग खुला हुनुपर्ने बताए।

उनले सातै प्रदेशमा डायलसिस सेवाका लागि प्रतिक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताए। मन्त्री गिरीले अबको तीन महिनाभित्र नै सातै प्रदेशमा डायलसिस सेवाका लागि सहज बनाउन पूर्वाधार बनाइसक्ने प्रतिवद्धता जनाए।

मन्त्री गिरीले अस्पतालका सबै सेवाहरु डिजिटलाइट प्रणालीमा लैजाने दाबी गरे। स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयले ५ जना स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *