सरकारले पशुपति सरसफाइका लागि ३ महिने अभियान चलाउने

सरकारले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्ने भएको छ । सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालयमा पत्रकारहरुसँग भेटघाट गर्दै मन्त्रालयले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्न लागेको बताएका हुन् ।

उनले आगामी शनिवारदेखि पशुपति सरसफाइको अभियान शुरु हुने र त्यसमा मन्त्रालय मातहतका सबै कर्मचारीहरुसहित आफ्नो अध्यक्षतामा सो अभियान सञ्चालन गर्न लागिएको बताए ।

त्यस्तै पशुपति हिन्दू विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरीएको पनि उनले जानकारी दिए । मन्त्री किरातीले आफू मन्त्रीको रुपमा आइसकेपछि विमानस्थलको सरसफाइ र व्यवस्थापकिय कुराहरुमा सुधार ल्याएको बताए ।

त्यस्तै नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिला हिंसाका घटनाहरु घटिरहेका भन्दै महिलाविरुद्ध हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गर्न लागिएको बताए । सरसफाइ निर्देशिका जारी गर्न लागेको पनि उनले उल्लेख गरे ।

त्यस्तै गरी ७ फेब्रुअरीमा ग्राउण्डेड भएको ट्वीनेटर जहाजको लागि छानबिन गर्न उपसमिति बनाएको उनले बताए । मन्त्रालयले हवाई नागरिक उड्डयन विधेयक प्रक्रियामा लगेको उनको भनाइ छ ।

मन्त्री किरातीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्नका लागि सम्बन्धित निकायसँग व्यावसायिक योजना माग गरिरहेको पनि बताए । त्यस्तै पर्यटकहरुलाई विभिन्न प्रकारका सेवा दिनका लागि नमस्ते पर्यटक सेवा २४सै घण्टा चलाउने तयारी रहेको उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *