मालीमा शान्ति सैनिकमाथि भएको हिंसात्मक आक्रमणको राष्ट्रसंघीय मिसनले अनुसन्धान गर्ने

गत हप्ता मालीमा भएको हिंसात्मक आक्रमण र यसमा परी केही व्यक्तिको ज्यान गएको विषयमा संयुक्त राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने जनाएको छ । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको अनुसन्धान गर्ने जनाएको संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ताले जनाएका छन् ।

ती प्रवक्ताका अनुसार गत हप्ता मालीमा संयुक्त राष्ट्रसङ्घीय मिसनमाथि नै हमला भएको थियो र त्यसमा परेर कम्तीमा पनि १२ जनाले ज्यान गुमाएका थिए । मालीको बान्डियागारा भन्ने स्थानमा यहाँका आतङ्ककारी सशस्त्र समूहले आक्रमण गरी १२ जना सर्वसाधारणको ज्यान लिएको थियो ।

ती आतङ्ककारीको खोजी जारी राखिएको भए पनि प्रहरीले भेट्न सकेको छैन । उक्त क्षेत्रको कानी बोन्जोन गाउँमा सर्वसाधारणलाई घेराहालेर हत्या गरिएको भन्दै यस्तो जघन्य अपराधको खोजी अनुसन्धान गर्नुपर्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले सो कुराको जानकारी दिएका हुन् । उनले मालीको संयुक्त राष्ट्रसङ्घीय मिसनले यस जघन्य अपराधको अनुसन्धान गर्ने बताएका हुन् ।

प्रवक्ता डुजारिकले मालीस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनका प्रमुख एवं संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका विशेष दूत एल गसिम वानेले यस घटनाका विषयमा मालीका अधिकारीसँग भेटवार्ता गरिसकेको र यस जघन्य अपराधको अनुसन्धानका लागि आवश्यक पहल पनि थालेको बताएका थिए ।

मालीमा सशस्त्र समूहले हिंसात्मक क्रियाकलापलाई जारी राखेपछि शान्तिवार्ताका माध्यमबाट समस्याको समाधान गर्न संयुक्त राष्ट्रसङ्घले पहल गरेको भए पनि सफल हुन सकेको छैन । यहाँ शान्ति स्थापनाको प्रयासका लागि संयुक्त राष्ट्रसंघीय शान्ति सेना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *