ममाथि सबैले भरोसा राखेका छन् : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारको रुपमा आफूमाथि सबैले भरोसा राखेको बताएका छन् । बिहीवार आठ दलको तर्फबाट राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरी सांसदहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सबैको माया पाएको बताए ।

उनले सबै सांसदहरु आफ्नो उम्मेदवारीप्रति सकारात्मक रहेको पनि बताए । वरिष्ठ नेता पौडेलले सांसदहरुले आफुले संविधानको संरक्षण गर्ने कुरामा भरोसा मानेका पनि उल्लेख गरे ।

कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतमा जस्तो संविधान मिच्ने काम राष्ट्रपतिबाट नहोस् भनि सचेत गराएको बताए । अध्यक्ष दाहालले आगामी दिनमा हरेक मुद्दाहरुमा राष्ट्रिय एकता गरेर जानुपर्ने कुरा बताएको उनले जनाए ।

त्यसैगरी अभिमुखीकरण कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता, संविधान संशोधन र राजनीतिक बन्दीहरुको रिहाइको सम्बन्धमा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलबाट प्रतिवद्धता आएकाले समर्थन गरिएको कुरा राखेकोसो पार्टीका सांसद शरदसिंह भण्डारीले जानकारी गराए ।

सांसद भण्डारीले आफूहरु पुष १० गतेभन्दा अगाडिको गठबन्धनको घटक भएको भन्दै आफुहरु सरकारमा स्वतः सहभागी हुने बताए । उनले आफूहरु सरकारमा सहभागी हुने भए पनि मन्त्रालयको सम्बन्धमा भने छलफल भइ नसकेको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर