क्षेत्रीहरू आदिवासी हुन् : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरू आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताएका छन्। उपराष्ट्रपति पुनले क्षेत्रीहरू आदिवासी हुन वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रहसमेत गरे।

शनिबार काठमाडौंको कलंकीस्थित नेपाल मगर संघको भवन पुनर्निर्माण तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरूले आफ्नो पहिचानको मुद्दालाई छाड्न नहुने पनि बताए।

उनले भने, ‘क्षेत्रीहरू आदिवासी हुन कि होइनन् भन्ने कुरा अलि गहिरो विषय छ। र, यसको इतिहास, तथ्यहरू हामीले हेर्न जरुरी छ। मलाई लाग्छ, क्षेत्रीहरू पनि आदिवासी हुन् भन्ने कुरा चाहिँ सही हो। यसका लागि आन्दोलन पनि उठेको थियो। र, त्यो आन्दोलन एउटा निष्कर्षमा जान सकेन। र, त्यसले दायाँबायाँ मोड लिन पुग्यो। त्यसमा हाम्रो अध्ययन पुग्नुपर्छ। गहिरिएर जानुपर्छ। आदिवासीहरु एकताबद्ध हुनुपर्छ जस्तो लाग्छ।’

संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकी रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिहरूले एकताबद्ध भएर सरकारलाई खबरदारी गरिरहनु पर्ने पनि उपराष्ट्रपति पुनको भनाइ थियो । उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरूको पहिचान स्थापित गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरूको एकता टुट्यो भने उनीहरूले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने तर्क गरे। उनले नेपाल मगर संघले आदिवासी जनजाति योद्धाहरूको योगदानको स्मरण गर्दै अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर