कलाकार र समाजबीच दरार उत्पन्न भइरहेको छ : नीर शाह

वरिष्ठ कलाकार नीर शाहले कलाकार, कलाकार संघ र नेपाली समाजबीचको त्रिकोणात्मक सम्बन्ध नराम्रो बन्दै गइरहेको बताएका छन्।

शनिबार काठमाडौंमा जारी नेपाल चलचित्र कलाकार संघको १९औं साधारण सभालाई सम्बोधन गर्दै उनले कलाकारहरू समाजमा आफ्नो गरिमामय उपस्थिति जनाउन कलाकार, कलाकार संघ र नेपाली समाजबीचको सम्बन्धका कारण सक्षम भए पनि बिस्तारै सबैले आफ्नो भूमिका बिर्सँदै गएको बताए।

उनले कलाकार, कलाकार संघ र समाजबीच पछिल्लो समय दरार उत्पन्न भइरहेको भन्दै सबै मिलेर यसलाई समाधान गर्नुपर्ने बताए।

त्यस्तै चलचित्र निर्माता संघका अध्यक्ष एवं नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष नवल खड्काले राष्ट्रिय चलचित्र नीतिको कार्यान्वयन गर्न आवश्यक रहेको बताए। उनले चलचित्रसम्बन्धी कानून बनाउन नसकेको भन्दै आपत्ति जनाए।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले अहिलेको नेतृत्वका लागि दाबेदारहरू कुर्सीका लागि मात्रै आएको आरोप लगाए। उनले नयाँ आउने नेतृत्वलाई आफ्नो अभाव खडकिन नदिने गरी काम गरेर देखाउन आग्रह गरे।

त्यस्तै महासचिव पदका उम्मेदवार सविन श्रेष्ठले आफूले जितेपछि कलाकार संघमा रोकिएका कामहरूलाई तीव्र गतिमा अघि बढाउने बताए। उनले अबको नेतृत्वका लागि दुवै प्यानल सक्षम भए पनि जितेपछि चलचित्र विकासका लागि काम गर्नुपर्ने बताए।

कलाकार सुशील पोखरेलले कलाकार संघले सबैको सहयोग गर्नुपर्छ भनेर कल्याण कोष खोले पनि वास्तविक पीडित कलाकारहरूलाई आवश्यक सहयोग गर्न नसकिरहेको गुनासो गरे। उनले अहिलेको स्रोत साधनले मात्रै कलाकारहरूलाई सहयोग नपुग्ने तर काम जारी रहेको बताए।

त्यस्तै नेपाल चलचित्र कलाकार संघमा महासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका उत्तम केसीले कलाकार पार्टीको हुन नहुने बताए। उनले कलाकारहरू विभाजित बन्न नहुने र कलाकारहरूलाई संघले एकताबद्ध गर्नुपर्ने बताए।

उनले चलचित्र कलाकार संघमा बेथिति, विसंगति रहेकाले त्यसका विरुद्ध आफू रहेको बताए। उनले नयाँ र पुराना कलाकारबीचमा रहेको भेदभावलाई हटाउनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर