प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतल प्राप्त गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा विश्वासको मतका लागि उनले पेस गरेको प्रस्तावको पक्षमा बहुमत सांसदले मत दिएका हुन्।

आजको बैठकमा २६२ जना सांसद उपस्थित थिए। तीमध्ये १७२ जनाले विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा र ८९ जनाले विपक्षमा मतदान गरे। १ जना सांसद तटस्थ बसे।

पुस १० मा नयाँ सरकार गठनपछि प्रचण्डले दोस्रोपटक विश्वासको मत लिएका हुन्। यसअघि उनले पुस २६ गते विश्वासको मत लिएका थिए।

प्रचण्डलाई नेपाली कांग्रेससहितका ११ दलले विश्वासको मत दिएका हुन्। उनलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले मत दिएनन्। नेपाल मजदुर किसान पार्टी तटस्थ बस्यो।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको हो।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। त्यही व्यवस्थाअनुरूप प्रधानमन्त्रीले यही चैत १२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने थियो।

माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायतको समर्थन उनलाई मिलेको छ।

प्रधानमन्त्रीलाई विश्वासको मतका लागि एक सय ३८ सांसदको मत आवश्यक पर्थ्यो। प्रतिनिधि सभामा माओवादी केन्द्रको ३२, कांग्रेसको ८८, रास्वपाको १९, जसपा ११, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, लोसपाका चार, नागरिक उन्मुक्तिका चार, जनमोर्चाका एक, नेमकिपाका १, आमजनता पार्टीका १ र स्वतन्त्र २ सांसद छन्। उनीहरूले विश्वासकाे मत दिएका हुन्।

प्रतिनिधि सभामा एमालेका ७९, राप्रपाका १४ सांसद छन्। उनीहरू प्रस्तावकाे विपक्षमा उभिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *