राष्ट्रिय सभामा प्रश्न- मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन?

राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले मंगलबार केही युवाहरूमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी छन्।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। त्यस क्रममा प्रहरीले युवाहरूको मुख थुनेर बोल्न दिएको थिएन भने उनीहरूलाई पक्राउ गरेको थियो।

सोही विषयमा आज सांसद पौड्यालले यसबारेमा सरकारको जवाफ माग गरेकी हुन्। उनले युवाहरू बोल्न खोजेका बेलामा प्रहरीहरूले उनीहरूको जबरजस्ती मुख थुनेको र घाँटी न्याकिरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि प्रहरीले ज्यादती गर्नुको कारण खोजेकी हुन्।

उनले संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने, बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन भन्दै प्रश्न गरे।

उनले भनिन्, ‘हिजोदेखि सञ्चार जगत र सामाजिक सञ्जालमा केही युवाहरू बोल्न खोजेको र केही प्रहरीहरूले उनीहरूको जबरजस्ती मुख थुनेको र घाँटी न्याकिरहेको देखिएको छ। लछारपछार पारिरहेको तस्बिर देखिरहेका छौं। यी युवाहरूले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादती गरेको हो? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने, बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ। प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन? यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन? यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु र जवाफ माग गर्दछु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *