एआईजी श्यामलाल ज्ञवालीको उमेर विवादमा अख्तियारले यसरी गर्दैछ अनुसन्धान

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको नागरिकता विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चैत ६ गते गृह मन्त्रालयलाई पत्राचार गरेको छ । नेपाल प्रहरीमा उमेर ढाँटेर जागिर खाएको विषयमा प्रमाणसहित उजुरी परेपछि अख्तियारले छानबिनका लागि गृह मन्त्रालयलाई पत्र पठाएको हो ।

दुई साताअघि एआईजीमा बढुवा सिफारिस भएका ज्ञवालीलगायत प्रहरीको ५ अधिकारीलाई सोमबार मन्त्रिपरिषदको बैठकले एआईजी बढुवा गर्ने निर्णय गरेको थियो । सरकारले वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो । बढुवा भएका एआईजीहरूले बुधबार दर्ज्यानी चिह्न पनि लगाइसकेका छन् ।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहको कार्यकाल यही ११ चैतसम्म रहेकाले आगामी आईजीपीको प्रत्यासी यिनै ५ अधिकारी हुन् ।

आईजीपीका प्रत्यासी ज्ञवालीविरुद्ध डीआईजी हुँदै अख्तियारमा उजुरी परेको हो । उनको भर्ना प्रक्रियामै त्रुटि रहेका कारण रद्दको मागसहित उजुरी परेको थियो । भर्ना मितिमा २५ वर्ष ननाघेको हुनुपर्नेमा ज्ञवालीले उमेर ढाँटेर भर्ना भएको उजुरीमा उल्लेख छ । अख्तियारले गृह मन्त्रालयलाई पठाएको पत्रमा पनि उनको उमेरमा अन्तर देखिएको उल्लेख छ (हेर्नुहोस् अख्तियारले गृहलाई पठाएको पत्र) ।

अख्तियारले नागरिकताअनुसार उनको उमेर प्रहरी निरीक्षकमा भर्ना हुने बेलासम्म २५ वर्ष नाघिसकेको देखिएको बताएको छ । जबकि, प्रहरीमा भर्ना हुन २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।

प्रहरीमा भर्ना भएको समयमा उनको उमेर २५ वर्ष ९ दिन हुन आउने देखिएको जनाउँदै यस सम्बन्धमा के कसो भएको हो, छानबिन गरी एक महिनाभित्र मन्त्रालयको स्पष्ट रायसहितको छानबिन प्रतिवेदन र सोलाई पुष्टि गर्ने सम्बद्ध कागजातहरू आयोगमा पेस गर्न भनेको छ ।

याे पनि : डीआईजी श्यामलाल ज्ञवालीविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान, ‘सेफल्यान्डिङ’ रोज्न सुझाव

अख्तियारले गृहलाई पठाएको पत्रमा भनिएको छ, ‘निज श्यामलाल ज्ञवालीको उमेर निजको नेपाली नागरिकताको प्रमाणपत्रबमोजिम उक्त छनोट हुने साल (वि.सं. २०५०) को वैशाख १ गते २५ बर्ष ९ दिन हुन आउने देखिन्छ । अतः यस सम्बन्धमा के कसो भएको हो ? सो सम्बन्धमा तहाँ मन्त्रालयबाट यथाशीघ्र छानबिन गरी प्रस्तुत पत्र प्राप्त भएको मितिले १ (एक) महिनाभित्र तहाँ मन्त्रालयको स्पष्ट रायसहितको छानबिन प्रतिवेदन र सोलाई पुष्टि गर्ने सम्बद्ध कागजातहरू आयोगको महाशाखा नं. ३ मा उपलब्ध गराई छानबिन कार्यमा सहयोग गरिदिनुहुन निर्णयानुसार अनुरोध छ ।’

यसअघि पर्दाफासलाई विश्वसनीय स्रोतबाट प्राप्त उनका कागजपत्रहरुले पनि केही कैफियत भएको देखिएको थियो । नागरिकतामा र शैक्षिक प्रमाणपत्रमा उमेर अन्तर देखिएको हो । अख्तियारमा परेको उजुरीमा ज्ञवालीले आफ्नो नागरिकतामा उल्लेखित वास्तविक उमेरभन्दा कम देखाएर राज्यलाई ढाँटी प्रहरी सेवा प्रवेश गरेको आरोप लगाइएको छ ।

याे पनि : डीआईजी श्यामलाल ज्ञवालीको उमेर विवाद, यस्तो छ सत्यता

जिल्ला प्रशासन कार्यालय प्यूठानले २ चैत २०४१ मा जारी गरेको नागरिकता प्रमाणपत्रमा उनी त्यतिबेला १७ वर्ष भएको उल्लेख छ । तत्कालीन प्रजिअ शम्भुप्रसाद खनालले जारी गरेको नागरिकता अनुसार उनको जन्ममिति २०२४ साल हुन आउँछ । नागरितामा जन्म महिना र गते खुलाइएको छैन । प्रहरीका अनुसार नागरिकताकै विवरण मानिने भएकाले उनको जन्ममिति २ चैत २०२४ हुन्छ ।

तर, ज्ञवालीले आफ्नो शैक्षिक प्रमाणपत्र र सिटरोलमा भने जन्ममिति २६ भदौ २०२५ उल्लेख गरेका छन् । नागरिकतामा उल्लेखित जन्ममितिभन्दा यो ५ महिना २४ दिनको फरक पर्छ । ज्ञवाली प्रहरीले जारी गरेको ९ मंसिर २०५० को सूचनाअनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका हुन् । इन्स्पेक्टरमा भर्नाका लागि उक्त सूचना जारी भएको मितिमा भर्ना वर्षको वैशाख १ गते २० वर्ष पुगेको र २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । तर, नागरिकताको जन्ममिति अनुसार उनी त्यतिबेला २५ वर्ष नाघिसकेको देखिन्छन् ।

उजुरीमा ज्ञवालीले काठमाडौंबाट लिएको प्रतिलिपि नागरिकता र प्रहरीको कर्मचारी प्रशासन शाखामा उनको अभिलेख हेरफेर नभएकोबारेमा अनुसन्धान गर्न र दोषी देखी कारबाही गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर