डीआईजी श्यामलाल ज्ञवालीविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान, ‘सेफल्यान्डिङ’ रोज्न सुझाव

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवालीको भर्ना प्रक्रियामै त्रुटि रहेका कारण रद्दको मागसहित परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । भर्ना मितिमा २५ वर्ष ननाघेको हुनुपर्नेमा डीआईजी ज्ञवालीले उमेर ढाँटेर भर्ना भएको उजुरीमा उल्लेख छ ।

अख्तियार उच्चस्रोतले उक्त उजुरीमा अनुसन्धान थालिएको पर्दाफासलाई जानकारी दिएको हो । अख्तियारले अनुसन्धान थालेपछि डीआईजी ज्ञवालीले पनि आफू निकटसँग यस्तो अवस्थामा राजीनामा दिने नदिने विषयमा परामर्श थालेको स्रोतले जनाएको छ ।

यस्तै उनले सम्पर्क सुत्रमार्फत  अख्तियारमा गरेकाे सम्पर्कमा उच्च अधिकारीहरुले समेत राजीनामा दिएर सुरक्षित अवतरण राेज्न सुझाएकाे स्राेतले जनाएकाे छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेल निकट रहेका ज्ञवाली उनी सरकारबाट बाहिरीएसँगै शक्तिविहिन बनेका छन् ।

पर्दाफासलाई विश्वसनीय स्रोतबाट प्राप्त उनका कागजपत्रहरुले केही कैफियत भएको देखिएको थियो । नागरिकतामा र शैक्षिक प्रमाणपत्रमा उमेर अन्तर देखिने भएपछि र यसमा अनुसन्धान तथा अदालती प्रक्रियामा जाँदा हालसम्मको करियरमा असर पर्न सक्ने भएपछि राजीनामा दिनेबारेमा ज्ञवालीले परामर्श थालेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार राजीनामा दिएमा अदालतले पनि त्यसपछि अन्य कारबाही अघि बढाउने सम्भावना नहुने भएकाले राजीनामा विकल्पबारे सोच्न डीआईजी ज्ञवालीलाई सुझाव आएको हो । ज्ञवाली हाल प्रदेश १ प्रहरी प्रमुख छन् । यसअघि उमेर विवादमा आएपछि प्रहरीका अर्का डीआईजी अशोक सिंहले पनि राजीनामा दिएका थिए ।

अख्तियारमा परेको उजुरीमा डीआईजी ज्ञवालीले आफ्नो नागरिकतामा उल्लेखित वास्तविक उमेरभन्दा कम देखाएर राज्यलाई ढाँटी प्रहरी सेवा प्रवेश गरेको आरोप लगाउँदै उनीमाथि अनुसन्धान र कारबाहीको माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय प्यूठानले २ चैत २०४१ मा जारी गरेको नागरिकता प्रमाणपत्रमा उनी त्यतिबेला १७ वर्ष भएको उल्लेख छ । तत्कालीन प्रजिअ शम्भुप्रसाद खनालले जारी गरेको नागरिकता अनुसार उनको जन्ममिति २०२४ साल हुन आउँछ । नागरितामा जन्म महिना र गते खुलाइएको छैन । प्रहरीका अनुसार नागरिकताकै विवरण मानिने भएकाले उनको जन्ममिति २ चैत २०२४ हुन्छ ।

तर, ज्ञवालीले आफ्नो शैक्षिक प्रमाणपत्र र सिटरोलमा भने जन्ममिति २६ भदौ २०२५ उल्लेख गरेका छन् । नागरिकतामा उल्लेखित जन्ममितिभन्दा यो ५ महिना २४ दिनको फरक पर्छ ।

ज्ञवाली प्रहरीले जारी गरेको ९ मंसिर २०५० को सूचनाअनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका हुन् । इन्स्पेक्टरमा भर्नाका लागि उक्त सूचना जारी भएको मितिमा भर्ना वर्षको वैशाख १ गते २० वर्ष पुगेको र २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । तर, नागरिकताको जन्ममिति अनुसार उनी त्यतिबेला २५ वर्ष नाघिसकेको देखिन्छन् ।

उजुरीमा ज्ञवालीले काठमाडौंबाट लिएको प्रतिलिपि नागरिकता र प्रहरीको कर्मचारी प्रशासन शाखामा उनको अभिलेख हेरफेर नभएकोबारेमा अनुसन्धान गर्न र दोषी देखी कारबाही गर्न पनि माग गरिएको छ ।

डीआईजी ज्ञवालीले भने बढुवाको समयमा अनावश्यक विवादमा ल्याउन उजुरी हालिएको पर्दाफासलाई बताएका छन् । ‘कसैले उजुरी दिँदैमा कारबाही हुन्छ नै भन्ने हुँदैन, मेरो नागरिकता र शैक्षिक प्रमाणपत्र त्यहीँ छ । जिल्ला स्तरीय परीक्षमा नै जन्ममिति उल्लेख हुन्छ । त्यहीअनुसार एसएलसी रजिस्ट्रेसनमा पनि जन्ममिति उल्लेख भएको थियो । त्यसैअनुसार अन्य प्रमाणपत्र बनेका छन् । नागरिकतामा मैले कुनै फेरबदल गरेको भए पो म दोषी हुँला ?’ उनले भने । उनले नागरिकताको जन्ममिति र अन्य प्रमाणपत्रमा उल्लेखित जन्ममिति कुनै फरक नरहेको दाबी गरेका छन् ।

यो पनि–

डीआईजी श्यामलाल ज्ञवालीको उमेर विवाद, यस्तो छ सत्यता

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर