कोशी प्रदेश नामकरणको विषयलाई लिएर विराटनगरमा झडप, ६ सुरक्षाकर्मीसहित १२ घाइते

कोशी प्रदेश नामकरविरुद्धका आन्दोलनकारी र सुरक्षाकर्मीबीच प्रदेश राजधानी विराटनगरमा झडप भएको छ। झडपमा ६ सुरक्षाकर्मीसहित कम्तीमा १२ जना घाइते भएका छन्।

विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको हो। आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको हो। झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान र ६ जना आन्दोलनकारी घाइते भएको एसपी दीपक पोखरेलले जानकारी दिए।

झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको थियो भने आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। झडपपछि आन्दोलनकारी फर्किएका छन् भने स्थिति सामान्यतर्फ फर्किएको जनाइएको छ।

युएनडिपीको आयोजनामा आज र भोलिका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटेलमा राखिएको थियो। त्यहाँ प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले घेर्न आउने भएपछि असुरक्षा देखाएर विराटनगरको होटेल बिगमा राखिएको छ। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सबै सांसदहरूलाई निमन्त्रणा गरिएको छ । सांसदहरूलाई दबाब दिन आन्दोलनकारी घेराउमा पुगेका थिए।

पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन्। सांसदहरू सहभागी हुने कार्यक्रम र होटेल घेराउ गर्न समितिका कार्यकर्ताहरू जम्मा हुने भएपछि प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर