अन्य मन्त्रीले मेरोजति काम गरे देश बन्न समय लाग्दैन : खानेपानीमन्त्री खान

खानेपानीमन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताएका छन्।

शुक्रबार सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले यस्तो दाबी गरेका हुन्।

उनले आफूले मन्त्री बनेर काम गरेको लगभग साढे २ महिना भएको भन्दै यो अवधिमा आफूले सोचेअनुसार काम गर्न नसके पनि राम्रो काम गरेको दाबी गरे। उनले आफूले मन्त्री बनिसकेपछि नै सबै नेपालीहरूलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्त गरी सार्वजनिक धाराको पानी खुवाउने घोषणाअनुसार सिंहदरबारबाट काम सुरु गरेको बताए।

उनले अब छिट्टै नै विभिन्न सार्वजनिकस्थल, शौचालय, विमानस्थल, बसपार्क र अस्पताललगायतका स्थानमा सार्वजनिक धारा राख्ने बताए। उनले मन्त्रालयका विभिन्न समस्याका कारण अझै पनि आफूले चाहेको गतिमा काम गर्न नसकेको बताए।

मन्त्री खानले बोतल र जारमा महँगो मूल्यको नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको भन्दै पानीको मूल्य ५ महिनाभित्र घटाएरै छोड्ने दाबी गरे। उनले देशका हरेक क्षेत्रमा ५ वर्षभित्र खानेपानीको समस्या समाधान गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताए।

शुक्रबार खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा निःशुल्क रूपमा सेवा पाउने गरी स्वच्छ खानेपानी धाराको उद्घाटन भएको हो। निकट भविष्यमा काठमाडौं उपत्यकाका अन्य सार्वजनिक ठाउँमा सेवा विस्तार गर्ने मन्त्तालयको योजना छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर