माओवादी केन्द्रले भन्यो- कोशी प्रदेश नामकरणको पक्षमा उभिनु गलत भयो, पहिचानकै पक्षमा छौं

नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामकरणको पक्षमा उभिनु कमजोरी भएको निष्कर्ष निकाल्दै पहिचानको पक्षमा उभिने निर्णय गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको हो। पार्टी निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामाकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताए।

उनले माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको जानकारी दिए। त्यस्तै आन्दोलनको क्रममा निधन भएकाहरूलाई शहीद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको उनले बताए।

उनले भने,‘बैठकले ३ वटा निर्णयहरू गरेको छ। एउटा, पूर्वमा कोशी प्रदेश नामाकरण भयो। त्यस विषयमा आन्दोलन उठिरहेको छ। त्यसमा हाम्रो पार्टीप्रति के हो अडान भन्ने प्रश्न उठेको पाइयो। हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ। पहिचानकै पक्षमा अडान राख्नुपर्थयो, त्यतिखेर अलिकति कमजोरी भएको छ। अब प्रदेश कमिटीलाई हामीले पहिचानकै पक्षमा छौं भन्ने कुरा रिजर्भेसन राख्ने कुरा भएको छ। अर्को निर्णय, आन्दोलन उठिराखेको छ। आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने, राहत दिने विषयमा पनि सरकारसँग माग गर्ने कुरा भएको छ। छानबिन भइरहेको छ। के कसरी भएको हो भन्ने सरकारले गर्छ। हामी चाहिँ शहीद घोषणा गर्नुपर्छ र राहत दिनुपर्छ भन्ने पक्षमा छौं। तेस्रो कुरा, मिटरब्याजीहरूको आन्दोलन चलिरहेको छ। त्यो विषयमा हामी मिटरब्याजी पीडितहरूकै पक्षमा छौं भन्ने कुरा सरकारले छानबिन गर्नुपर्छ। अध्ययन गर्नुपर्छ। वार्ता, संवादबाट समस्याको हल खोज्नुपर्छ।’

बैठकले मिटरब्याजी पीडितहरूको पक्षमा माओवादी केन्द्र पनि रहेको भन्दै सरकारले छानबिन गरेर समस्याको हल खोज्नुपर्ने भनी निर्णय गरेको छ। सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उपाध्यक्ष महराले सरकारले बिहीबारसम्म पूर्णता पाउने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर