मोफसलमा बढ्दै छ चलचित्र गतिविधि

चलचित्रको गतिविधि प्रायः काठमाडौं उपत्यकामा केन्द्रित छन्। चलचित्र प्रदर्शन अगाडि भने पत्रकार सम्मेलनका लागि मोफसलका केही शहरमा चलचित्रकर्मी पुग्ने गरेका छन्। प्रिमियर, घोषणालगायत कार्यक्रम काठमाडौं केन्द्रित भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बहाव’को प्रिमियर भने कास्कीको पोखरामा हुने भएको छ।

मोफसलका विभिन्न शहरमा व्यावसायिक रूपमा प्रिमियर नभएका होइनन् तर निर्माण पक्षले नै प्रचारप्रसारका लागि गर्ने यस्ता गतिविधि निकै कम छन्। चलचित्र निर्माता श्रीधर पौडेलले कलाकार सुरक्षा पन्त र कमलमणि नेपाल तथा लेखक/निर्देशक प्रमोद कँडेलको सहभागितामा पोखरामा प्रिमियर हुने जानकारी दिए।

‘मोफसलमा समेत प्रिमियर गर्नुपर्छ भन्ने सोच बनायौं। उपत्यकाबाहिर फाट्टफुट्ट हुने यस्ता कार्यक्रमलाई विस्तारै बढाउँदै लैजानु पर्छ,’ निर्माता पौडेलले भने। चलचित्र ‘बहाव’को प्रिमियर काठमाडौंमा भने बुधबार सम्पन्न भइसकेको छ। पहिलो दर्शक बनेका कलाकर्मी, राजनीतिज्ञ र सञ्चारकर्मीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्देशक कँडेलले बताए।

‘फरक रूपमा तयार गरेको प्रयासबाट सकारात्मक प्रतिक्रिया पाउँदा उत्साहित छु। यसमा हामीले अहिलेको पुस्ताको मनोविज्ञान, समाज र परिवारले राख्ने अपेक्षालाई प्रस्तुत गरेका छौं,’ उनले भने। निर्माता पौडेलकै अग्रसरतामा केही वर्ष अगाडि ‘लुकामारी’ को प्रिमियर पोखरामा गरिएको थियो।

गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’को काठमाडौंसँगै चितवन र इटहरीमा प्रिमियर गरिएको थियो। निर्माता रवीन्द्रसिंह बानियाँले मोफसलको मागलाई ध्यानमा राख्दै प्रिमियर गरिएको बताए।

‘हामीले मोफसलमा व्यापार भएन भन्छौं। अझै कोशी र मधेस प्रदेशको धेरै शहरमा हाम्रो बजार राम्रो छैन। त्यहाँ बजार विस्तार गर्नका लागि पनि प्रिमियर गरेका थियौं,’ निर्माता बानियाँले भने, ‘प्रिमियर, पत्रकार सम्मेलनलगायत गतिविधिले स्थानीय रूपमा प्रचारप्रसार हुन्छ। मोफसलबाट पनि लगानी उठाउन मद्दत पुग्छ।’

आफ्नो आगामी चलचित्र ‘महाजात्रा’लाई काठमाडौं मात्र नभई मोफसल केन्द्रित गतिविधिमार्फत प्रचारप्रसार गर्ने योजनामा उनी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर