रविविरुद्ध राहदानी मुद्दा नचलाउने निर्णय कसैको दबाबमा होइन, विवेकपूर्ण रूपमा गरिएको हो : महान्यायाधिवक्ता

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह गरेका छन्।

शुक्रबार महान्यायाधिवक्ता बनेको सय दिनको कामकारबाहीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो आग्रह गरेका हुन्।

उनले राहदानी प्रकरण महान्यायाधिवक्ताको कार्यलयले प्रमाणहरूको मूल्यांकन गरी प्रक्रियागत रूपमा नै टुंग्याएको दाबी गरे। उनले राहदानीको विषयमा अदालतले प्रक्रियागत त्रुटि छ भनेर कतै नलेखेको उल्लेख गर्दै प्रक्रियागत रूपमा नै अनुसन्धान सकिएकाले मुद्दा नचलाउने नर्णय लिएको बताए।

उनले राहदानीसम्बन्धी मुद्दा नचलाउने निर्णय कसैको दबाबमा नभई विवेकपूर्ण रूपमा गरिएको स्पष्ट पारे। उनले अदालतको फैसलाले नै कतै पनि प्रक्रियागत त्रुटि रहेको उल्लेख नगरेकाले यसलाई कुनै राजनीतिक सौदाबाजीको विषयसँग जोड्नु अन्याय हुने बताए।

उनले राहदानीको मुद्दा नचलाउने निर्णयको स्वामित्व महान्यायाधिवक्ता कार्यालयले लिने भन्दै राजनीतिक विषयसँग जोड्न आवश्यक नरहेको जिकिर गरे।

महान्यायाधिवक्ता पोखरेलले बलात्कारका घटनामा पीडितहरूले बयान फेर्ने कुरालाई मध्यनजर गरी महान्यायाधिवक्ताको कार्यालयले साक्षीको सुरक्षाका लागि आवश्यक काम गरिरहेको स्पष्ट पारे। उनले फौजदारी न्याय प्रणालीमा साक्षीको सुरक्षा र पीडितको सुरक्षाबिना न्याय सम्पादन हुन कठिनाइ हुने पनि बताए।

महान्यायाधिवक्ता पोखरेलले अनुसन्धान र अभियोजनलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरा महान्यायाधिवक्ताको कार्यालयको प्रमुख काम भएको उल्लेख गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *