समिट अपार्टमेण्ट प्रकरण : पीडितलाई क्षतिपूर्ति दिन र दोषीलाई कारबाही गर्न तोसिमाको माग

ललितपुरको बखुण्डोलमा समिट अपार्टमेण्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन्। ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरूले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन्। शनिबार बिहान सो भासिएको घरहरूको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरिन्।

सांसद कार्कीले सो विषयमा आफूले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पनि कुरा गरेको र स्थानीयलाई न्याय दिन आफू लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्। उनले स्थानीयलाई भासिएको घरमा नबस्न र सुरक्षित ठाउँमा सर्न पनि आग्रह गरिन्। त्यसका लागि आफूले पनि सकेको सहयोग गर्ने उनले बताइन्।

अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरू भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइतेसमेत भएका छन्। उनीहरूको उपचारको व्यवस्था र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आफूले पहल गर्ने सांसद कार्कीले बताइन्।

सडकसमेत चर्किएपछि त्यस क्षेत्रका बासिन्दा तनावग्रस्त छन्। उनीहरूले आफूहरूको बिचल्ली हुँदा पनि निर्माण कम्पनीले आफूहरूको पीडाको सुनुवाइ नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्। स्थानीयले दबाब दिएपछि सो अपार्टमेन्टको निर्माण कार्य पनि रोकिएको छ।

याे पनि : हाेटल समिटले बनाउँदै गरेकाे नयाँ भवनका कारण छिमेकका घरहरू भासिए (फाेटाे फिचर)

गए राति सो अपार्टमेण्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभागसमेत गरेका हुन्। नक्सा पास नै नगरी र आफूहरूसँग अनुमतिसमेत नलिई अपार्टमेण्ट बनाउन सुरु गरेपछि आफूहरूको घर समेत भासिन पुगेको स्थानीयको भनाइ छ। उनीहरूले आफूहरूको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि माग गरेका छन्।

सो निर्माणाधीन अपार्टमेण्ट वरपरका एक तलाजति घरहरू भासिएका छन्। डेरा गरेर बस्नेहरू सबै भागेको र आफूहरू पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन्। अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको दाबी छ। गैरकानूनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरूलाई घरबारविहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *