अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिन्छौं : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिने गरी आफूले काम गर्ने बताएका छन्।

आइतबार अर्थ मन्त्रालयमा आर्थिक मिडिया सञ्चालक संघका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री डा. महतले मुलुकको आर्थिक अवस्था अफ्ठ्यारो अवस्थामा रहेको भन्दै अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिने गरी आफूले काम गर्ने बताएका हुन्। उनले अर्थतन्त्रमा देखिएका सबै खाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन आफू लागिरहेको बताए।

अर्थमन्त्री डा. महतले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गरी तत्काल सकारात्मक सन्देश दिनुपर्ने भएकाले आफ्नो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित रहेको बताए। उनले अर्थतन्त्रमा लगानी, बैंकको ब्याजदर, पुँजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको उल्लेख गरे। मन्त्री डा. महतले मुलुकको अर्थतन्त्रमा बाह्य र आन्तरिक समस्याले गर्दा राजस्व संकलन न्यून भएको स्वीकार गरे।

उनले विगतमा आर्थिक वृद्धिदरभन्दा बढी राजस्व संकलनको लक्ष्य राख्ने गरे पनि उत्साहजनक रूपमा संकलन हुने गरेको भन्दै चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन हुने अवस्था नभएको बताए। उनले मुलुकको राजस्व संकलन भन्सारमा निर्भर भएको भन्दै यो वर्ष आयात प्रतिबन्धलगायतको कारण लक्ष्य पूरा हुन नसकेको बताए।

उनले सरकार साधरण खर्च धान्न आन्तरिक ऋण र बाह्य सहयोग र ऋणमा निर्भर भएको र यो उपयुक्त नभएको उल्लेख गरे। उनले साधरण खर्चमा समस्या देखिए पनि विदेशी मुद्रा सञ्चितिको लगायत अन्य अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेकाले निराश भइहाल्ने अवस्था नरहेको बताए।

उनले बैंकको ब्याजदर, मौद्रिक नीतिमा कडाइले सिर्जना गरेका परिस्थितिका कारणले अर्थतन्त्रमा केही अफ्ठ्याराहरू आएको बताए। उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा सरकारको वित्त नीति र मौद्रिक नीति निश्चित लक्ष्यका साथ सकारात्मक दिशामा उन्मुख गराउने बताए।

उनले निराशाको परिस्थितिलाई आशामा रूपान्तरिण्त गर्ने लक्ष्यका साथ काम गरिरहेको बताए। उनले सरकारको साधरण खर्चलाई अत्यन्त कम गर्ने गरी काम गर्ने बताए। उनले सरकारको दायित्वभित्र रहेका तलब, भत्ता, शिक्षा, स्वास्थ्यलाई चाहेर पनि कम गर्न नसक्ने बताए।

अर्थमन्त्री डा. महतले बजेटको प्रभावकारिता कार्यान्वयन गर्ने र उत्पादनशील क्षेत्रमा लगानीको सुनिश्चित हुनेतर्फ सरकारको ध्यान केन्द्रित हुने बताए। उनले सरकारले भूकम्पमा लिएको वैदेशिक ऋणको दायित्व बढ्दै गएको बताए ।

त्यस्तै अर्थमन्त्री डा. महतले सामाजिक सुरक्षा भत्तामा सरकारले गरिबीको रेखामुनि रहेकाहरूलाई राज्यले सहयोग गर्ने उद्देश्यले विगतदेखि निरन्तरता दिएको भन्दै देशको साधन स्रोतबिना गर्न नसक्ने बताए। उनले पुँजी निर्माणको दायरा फराकिलो नहुँदा सरकारले सामाजिक दायित्वहरूलाई बढाएर लैजान नसक्ने बताए। उनले सरकारले आम्दानीको दायरालाई बेवास्ता गर्ने, सरकारले दिन्छ भनेर मात्रै बोलिदिने विषयले समस्या समाधान नहुने बताए।

उनले उद्योग व्यवसायमा लगानी गरी आम्दानीको दायरा वृद्धि, वैदेशिक तथा आन्तरिक लगानी प्रवर्दधन गर्नुपर्ने बताए। उनले वैदेशिक ऋणलाई समयमा नै कार्यान्वयन गर्नुपर्ने बताए। उनले सरकारको राजस्वमा वृद्धि गर्न सके मात्रै सामाजिक सुरक्षामा खर्च गर्न सकिने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर