भक्तपुरमा बिस्केट जात्रा सुरु (तस्बिरहरू)

भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु भएको छ । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् जात्रा बिस्केट सोमवार बिहानबाट नै सुरु भएको हो ।

तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि भक्तजनको भीड रहेको थियो । बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरिएको थियो । पूजापछि भैरवको रथ तान्न शुरु गरिएको छ भने यस वर्ष छिट्टै रथ तानेर गहिटी पुर्‍याउने बताइएको छ । पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर यात्रा सुरु भएको छ ।

विगतका वर्षहरुमा अपराह्न ५ बजेपछि रथ तान्न शुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पुर्‍याउने चलन थियो । यस वर्ष भने भैरवनाथको रथ अपराह्न ५ बजेसम्म गःहिटीमा पुर्‍याइ पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी रहेको आयोजकले बताएको छ ।

रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति चढ्न पाइँदैन । आजको जात्रा सम्पन्न भएपछि चैत्र ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने जात्रा हुनेछ ।

आगामी वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते अपराह्न ५ बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर