माधव नेपाललाई योगेश भट्टराईको प्रश्न- प्रतिपक्षमा रहेको एमालेले संसद विघटन कसरी गर्छ?

नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हुन्।

उनले अध्यक्ष नेपालको बोली शंकास्पद रहेको पनि बताए। उनले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै होशमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्नसमेत गरे। सचिव भट्टराईले एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद विघटन गर्छ भनेर पनि प्रश्न गरे।

उनले भने, ‘पूर्वप्रधानमन्त्री माधव नेपालले एमालेबाट संसद विघटन हुन लागेको छ खबरदार सबै सचेत हौँ भन्नुभएछ। मैले बुझेको माधव नेपाल कुनै नचाहिँदो चिज सेवन गर्नुहुन्न उहाँले। मद्यपान, धूमपानबाट अलिकति टाढा रहेको भन्ने नै मैले बुझ्छु माधव नेपाललाई। तर, आजको उहाँको बोली हेर्दा अलि शंकास्पद छ क्या। उहाँले आफू दुरुस्त भएर त्यो बोलेको जस्तो लाग्दैन। जुन पार्टी प्रतिपक्षमा छ, त्यो पार्टीले कसरी संसद विघटन गर्छ? उहाँले के भन्दै हिँड्नुभएको छ? सपना देख्नुभएको छ कि? विपनामा हुनुहुन्छ कि? होशमा हुनुहुन्छ कि? हुनुहुन्न कि? उहाँजत्तिको १५ वर्ष एउटा ठूलो पार्टीको नेतृत्व गरेको मान्छेले, प्रधानमन्त्री भइसकेको मान्छेले, यति अनुभवी राजनीतिज्ञले त्यस्तो बोलेको देख्दा यो एक, डेढ वर्षमा उहाँ धेरै बदलिनु भएछ।’

उनले कांग्रेस सभापतिले भविष्यमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्न सक्ने कुरा अभिव्यक्त गरेकोमा कांग्रेस ब्युँझिएको टिप्पणी गरे। उनले कांग्रेस नेतृत्वमा सरकार बन्नु संवैधानिक अधिकार भए पनि कांग्रेसले सो अधिकारको प्रयोग गर्न नसकेको बताए। उनले अहिले कांग्रेस आफ्नो हैसियतमा नरहेको बताए।

उनले भने, ‘कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउछौँ भनेर भन्ने कुरा कांग्रेस बल्ल ब्युँझेछ। यो त कांग्रेसको अधिकार हो नि। कांग्रेसले त आफ्नो संवैधानिक अधिकार नै प्रयोग गर्न नसक्ने गरी कांग्रेस थला बसेको छ। कांग्रेस आफ्नो हैसियतमा छैन। बीपी, गणेशमान, किसुनजीहरुले बनाएको कांग्रेस छैन आज शेरबहादुरको पालामा। यो कांग्रेस त स्वाभिमान गुमेको, इच्छाशक्ति नभएको र आज यत्रा तमाम समस्यामा रमिते बनेर बस्ने कांग्रेस हो यो। रमिते बनेको छ यो कांग्रेस। ऊसँग अधिकार थियो, ७६(३)को सरकार बनाउने, ७६(२) मा पनि उसको अग्रसरता हुनुपर्थ्यो नि पहिलो पार्टी हुनुका नाताले। कहाँ डुल्दैथ्यो कांग्रेस त्यतिबेला?’

सचिव भट्टराईले देशमा तमाम समस्याहरू भए पनि नेपाली कांग्रेस रमिते बनेर बसिरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर