पर्वतारोहीलाई सुरक्षित महसुस गराउन सगरमाथा चढ्दै प्रहरी

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरी राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र इन्टरपोलको झण्डा फहराउन आरोहणदलका सदस्यसहित त्यसतर्फ प्रस्थान गर्न लागेका नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई शुभकामानसहित झण्डा हस्तान्तरण गरिएको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीलाई राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा, इन्टरपोलको झण्डा एवं आरोहणमा प्रयोग हुने सामग्रीहरू हस्तान्तरण गरेका छन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले आरोहणमा जान लागेका प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीसहितका सदस्यलाई यात्राको सहज, सुखद एवं सफलताको शुभकामना व्यक्त गरे । साथै आरोहणमा साथ सहयोग एवं सहजीकरण गर्ने विभिन्न सरकारी निकाय तथा इलाइट हिमालयन एडभेन्चरलाई उनले कृतज्ञता व्यक्त गरे ।

प्रहरी महानिरीक्षक कुँवरले यस आरोहणमार्फत इन्टरपोलको सदस्य राष्ट्रहरूको शान्ति सुरक्षा, अपराध अनुसन्धान एवं नियन्त्रणमा भएको प्रतिवद्धताप्रति नेपाल प्रहरीको पनि पूर्ण रूपमा ऐक्यबद्धता रहेको सन्देश तथा पर्यटकहरूको सुरक्षाको अनुभूति हुने सन्देशसमेत प्रवाह हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले आरोहणसम्बन्धी संक्षिप्त जानकारी दिएका थिए । उक्त आरोहणको लागि प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको फागुन २६ गतेको निर्णयानुसार स्वीकृत भई आएपश्चात् माउन्टेनियरिङ तालिम प्राप्त गरी ६ हजार ४७६ मिटर उचाइको मेरापिकलगायत अन्य हिमालहरू सफलतापूर्वक आरोहणको अनुभव प्राप्त गरेका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली उक्त आरोहणको लागि छनोट भएको र उक्त आरोहणको लागि इलाइट हिमालयन एड्भेन्चरसँग सहकार्य गरिएको प्रहरी उपरीक्षक जबराले जानकारी दिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, इलाइट हिमालयन एडभेन्चरका डाइरेक्टर, एभरेष्ट समिटर्स एशोसियसनका महासचिव एवं वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सन् १९२३ मा अष्ट्रियाको भियनामा स्थापना भएको इन्टरपोलले सफलतापूर्वक १००औं वसन्त पूरा गरेको अवसरमा इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा नेपाल प्रहरीले पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउने योजनाअन्तर्गत विश्व सम्पदा सूचीमा सूचीकृत सर्वोच्च शिखर सगरमाथामा नेपाल प्रहरीका कर्मचारीले आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डाहरू फहराउने कार्यक्रमको योजना रहेको सो अवसरमा जानकारी दिइयो ।

नेपाल प्रहरीले विभिन्न हिमाल आरोहण गरिसकेको र नेपाल प्रहरी संगठनमा हिमाली शाखाको वि.सं. २०४२ सालमा स्थापना भई नेपाल प्रहरी कर्मचारीहरू र नेपाल प्रहरी परिवार संघका पदाधिकारीहरूले समेत विगतमा विभिन्न हिमालहरू सफलतापूर्वक आरोहण गर्नुका साथै प्रहरी कर्मचारीहरूले सगरमाथा सफाइ अभियानमा सहभागी भएको, विभिन्न आरोहण दलमा सम्पर्क अधिकृतको रूपमा भूमिका समेत निर्वाह गरिसकेको छ ।

यस आरोहणमार्फत कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिने र कानून कार्यान्वयनमा नेपालको पूर्ण रूपमा ऐक्यबद्धता रहेको भन्ने महत्त्वपूर्ण सन्देश विश्वसामु प्रवाह हुने र यसबाट नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा टेवा पुग्नुका साथै प्रहरीको उपस्थितिले विश्वभरका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति हुने विश्वास नेपाल प्रहरीले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर