उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल ‘सुकीर्तिमय राष्ट्रदीप’ बाट विभूषित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ‘सुकीर्तिमय राष्ट्रदीप’ बाट विभूषित भएका छन्।

शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सो विभूषणबाट सम्मानित गरेका हुन्।

असोज ३ गते संविधान दिवसको दिन भएको घोषणाअनुसार विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका ९८२ जनामध्ये ढकाल पनि विभूषित भएका हुन्।

व्यावसायिक क्षेत्रमा ढकालको विशेष योगदान छ। ढकाल नेपाल उद्योग वाणिज्य महासंघको २०औं अध्यक्ष हुुन्। महासंघको बिहीबार सम्पन्न ५७औं साधारण सभाबाट उनी अध्यक्ष निर्वाचित भएका हुन्। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार उनी महासंघको अध्यक्ष बनेका हुन्।

२०७७ सालमा सम्पन्न महासंघको चुनावबाट ढकाल वरिष्ठ उपाध्यक्ष बनेका थिए।

ढकाल पहिलो पुस्ताका सफल उद्यमी–व्यवसायी हुन्। दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।

महासंघका नवनिर्वाचित अध्यक्ष ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुन्। उनको व्यावसायिक यात्रा करिब चार दशक लामो छ । विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मेका ढकालले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरु गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *