भारतीय प्रधानमन्त्री मोदीले गरे राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य लाभको कामना गरेका छन्।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मोदीले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जनाएको छ।

मंगलबार बेहोश भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नआएपछि बुधबार एयर एम्बुलेन्समा उनलाई नयाँ दिल्ली लगिएको हो। पौडेललाई दिल्लीस्थित एम्स अस्तालको भीआईपी सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट जारी विज्ञप्तिमा राष्ट्रपतिको अवस्था स्थिर रहेको र उनी चिकित्सकको निगरानीमा रहेको बताइएको छ।

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए। त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो। इन्फेक्सन नघटेको पाइएपछि उनलाई भारत लगेर उपचार गराउन चिकित्सकहरूले सुझाव दिएका थिए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर