१ केजी ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध कोकिन १ केजी ८० ग्रामसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीले यसबारेमा जानकारी गराएको हो।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित अलिग्राहका ५१ वर्षीय रवीन्द्रकुमार परासर र केन्याकी वर्ष ६३ की पिलिसिला वान्जा एन्ड्रिटुलाई रहेका छन्।

रवीन्द्रकुमारलाई वैशाख ५ गते काठमाडौंको ठमेलस्थित एक होटलबाट र एन्ड्रिटुलाई ठमेलस्थित नै अर्को होटलबाट यूएस एक हजार डलरसहित पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले बताए।

उनीहरूको साथबाट कालो रङको कपडाको झोलाभित्र लुकाइरहेको खैरो रङको लेडिज ब्यागमा फल्स बटम बनाई लुकाइछिपाइ राखिएको अवस्थामा १ केजी ८० ग्राम कोकिनसहित पक्राउ गरिएको र केन्याली महिलाबाट एक सय अमेरिकी डलर बरामद गरिएको एसपी जोशीले बताए।

उनीहरूविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।

बरामद लागुऔषध कोकिनको अन्दाजी अवैध बजार मूल्य २ करोड ३३ लाख २८ हजार रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *