विपद् व्यवस्थापनका लागि लगानी प्रवर्द्धनमा जोड दिनुपर्छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका लागि लगानी प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘विपद् जोखिम व्यवस्थापन : नीतिगत व्यवस्थादेखि अभ्याससम्म’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै उनले सो कुरा बताएका हुन्।

उपप्रधानमन्त्री श्रेष्ठले नागरिक तहसम्म बीमा संस्कृतिको प्रवर्द्धन गर्न सके विपद् व्यवस्थापनमा गरिएका प्रयासहरू थप एकीकृत र मजबुत भई सम्भावित क्षति न्यून गर्न सहज हुने पनि बताए। उनले विपद् जोखिम कोषलाई राहतमा मात्रै केन्द्रित नगरी जोखिम न्यूनीकरण, विपद्का समयमा खुला स्थानहरूको पहिचान र विकास जस्ता दीर्घकालीन महत्त्वका अतिआवश्यक कार्यमा परिचालन गर्न पनि स्थानीय तहलाई आग्रह गरे।

उपप्रधानमन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र अनुगमनका साथै पूर्वतयारी र जोखिम न्यूनीकरणका कामलाई एकीकृत गर्न आवश्यक रहेको पनि उल्लेख गरे। उनले तीनवटै तहका सरकार र अन्य सरोकारवाला निकायहरूको समन्वयमा मात्रै विपद् व्यवस्थापनको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सकिने पनि बताए।

उपप्रधानमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि जोखिमको तुलनामा प्रयास, लगानी, क्षमता एवं साधन, स्रोतको कमी भएको औंल्याउँदै यसको क्रमशः वृद्धि गर्दैै लैजानुपर्ने बताए। उनले नेपालको संविधानले विपद् व्यवस्थापनको काममा तीनवटै तहको सरकारलाई जिम्मेवार बनाएको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्नुपर्ने बताए।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्थापना भई विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा पुनर्निर्माण र पुनस्थापनाका विविध क्रियाकलापहरू सञ्चालन भइराखेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सबै तहका सरकारका संयन्त्रहरूका साथसाथै गैरसरकारी क्षेत्र, निजी क्षेत्र र समुदायसम्म विपद् जोखिमको बुझाइ अभिवृद्धि गर्दै लैजान जरुरी रहेको पनि बताए।

उपप्रधानमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनसम्बन्धी चुनौतीहरूको सामना गर्नका लागि सरोकारवाला निकायले दिएको सुझावलाई सरकारले कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *