‘ए’ डिभिजन लिग : एपीएफद्वारा खुमलटार पराजित

विभागीय टोली एपीएफ क्लवले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सोमवार खुमलटार युथ क्लवलाई हराएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न १२ औं चरणको पहिलो खेलमा एपीएफले खुमलटारलाई २–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा पाँचौं जित निकालेको हो । यस जितसँगै एपीएफ शहीद स्मारक ए डिभिजन लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

एपीएफले १२ खेलबाट १७ अंक बनाएको छ भने जारी लिगमा सातौं पराजय भोगेको खुमलटार १३ अंकसहित ११ औं स्थानमा छ ।

खुमलटारजिरुद्ध शुरुवातबाट नै आक्रमक देखिएको एपीएफले खेलको २५औं मिनेटमा गोलको खाता खोलेको थियो । बुद्धिमान राईले उपलब्ध गराएको पासलाई अब्डोउ रमानीले गोल गर्दै एपीएफलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा खुमलटार खेलमा फर्किनलाई निकै प्रयास गरेपनि सफल हुन सकेन ।

दोस्रो हाफमा अलि सुधारिएको खेल देखाउने प्रयास गरे पनि खुमलटार खेलमा फर्किन असफल भयो । पहिलो हाफमा लिएको अग्रता पछि उच्च मनोबलका साथ खेलेको एपीएफले दोस्रो हाफमा दोस्रो गोल थप्न सफल भयो । ७० औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खुमलटारका गोलकिपर राजकुमार लिम्बूले पेनाल्टी बक्सभन्दा अगाडि आएर नियन्त्रण गर्ने प्रयास गरेको बललाई खोस्दै अर्माण्ड बिडोमले टोलीका लागि दोस्रो गोल गर्न सफल भएका हुन् । बाँकी समयमा खुमलटार खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन ।

लिगमा मंगलवार तीन खेल हुनेछन् । एन्फा मुख्यालयमा हुने खेलमा मनाङ मर्साङ्दी क्लवले विभागीय टोली नेपाल पुलिस क्लवसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै दशरथ रंगशालामा पहिलो खेल फ्रेण्ड्सले न्युरोड टिम एनआरटी (एनआरटी) बीच हुनेछ भने दोस्रो खेल जावलाखेल युथ क्लव र चर्च ब्वाईज क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *