५३ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरीको दाबी पेस

नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

चौधरीले नेकपा (माओवादी केन्द्र), जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादीलगायत ८ दलका ५३ सांसदहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

चाैधरी दाङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।

गत २७ पुसमा संविधानको धारा १६८ (२) अनुसार नेकपा (एमाले) बाट मुख्यमन्त्री बनेका लीला गिरीले ११ वैशाखमा प्रदेशसभामा विश्वासको मत नपाएपछि नयाँ सरकार पनि सोही धाराअनुसार गठन हुन लागेको हो।

केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित पाँच दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए। त्यसपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आज दिउँसो ४ बजेभित्र दाबी पेस गर्न समयसीमा दिएका थिए।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ। लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४-४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका एक-एक जना र स्वतन्त्र एक सांसद रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर