बझाङमा एस, राप्रपासहित ८ उम्मेदवारको धरौटी जफत

बझाङ–१ को प्रदेश सभा उपनिर्वाचनमा ८ जना उम्मेवारको धरौटी जफत भएको छ । निर्वाचनमा सहभागी उनीहरुले सदर मतको १० प्रतिशत पनि ल्याउन नसकेपछि धरौटी जफत भएको हो ।

धरौटी जफत हुनेमा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत, नेपाल मजदुर किसान पार्टीलगायत दल र अन्य गरी ८ जना उम्मेदवार छन् ।

बझाङमा ११ हजार ६१३ मत ल्याएर एमालेका दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मत ल्याए । उनीहरुको मात्र धरौटी जोगिएको छ ।

यो क्षेत्रमा जमानत जोगाउन उम्मेदवारले २ हजार ९७० मत ल्याउनुपर्ने थियो ।

धरौटी जफत हुने एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१४ मत, राप्रपाका किशोर कुमार खड्काले २ सय ४२, जसपाका रामबहादुर जाग्रीले ४२, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्र बहादुर थापाले ३५, जनमतकी सुशीला देवी विष्टले २, नेपाल मजदुर किसान पार्टीका खगेन्द्र बहादुर शाहीले २४ मत पाए ।

निर्वाचन आयोगका अनुसार प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्दा पाँच हजार रुपैयाँ धरौटी लाग्नेछ । महिला, दलित अल्पसंख्यक वा आर्थिक रुपले विपन्नहरूले धरौटी रकममा आधा छुट पाउँछन् । सदर मतको १० प्रतिशत कटाउन नसक्नेको उक्त धरौटी रकम जफत हुने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *