कर्णालीका मुख्यमन्त्री शर्माले तेस्राे पटक पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्। शुक्रबार प्रदेशसभाको १४ औं बैठकबाट उनले तेस्रो पटक विश्वासको मत पाएका हुन्।

नेकपा (माओवादी केन्द्र) सहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसदको मत उनले पाएका हुन्।

मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा २९ मत परेको छ भने विपक्षमा १० मात्रै परेको छ। उनले नेकपा (एमाले) र राप्रपाबाहेक सबै दल तथा स्वतन्त्र सांसदको मत प्राप्त गरेका हुन्। उनलाई माओवादीको १३, कांग्रेसको १४, समाजवादीको १ र एक जना स्वतन्त्र सांसदको मत प्राप्त भएको हो।

मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए।

यसअघि पहिलो पटक शर्माले ६ माघमा विश्वासको मत लिएका थिए। त्योबेला एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए भने कांग्रेसले विपक्षमा भोट हालेको थियो।

यद्यपि राप्रपाले समर्थन फिर्ता लिए पनि १७ चैतमा दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यो बेला राप्रपा बाहेकका सबै दलले समर्थन गरेका थिए। तर, राष्ट्रिय राजनीतिको समीकरणअनुसार कांग्रेस-माओवादीको सरकार बन्ने भएपछि २७ चैतमा एमालेले समर्थन फिर्ता लिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर