कीर्ते धनीपुर्जा बाँडेर सुकुम्वासीसँग लाखौं असुली, दुई आरोपी पक्राउ

जग्गाको नक्कली धनीपुर्जा दिएर झापाको मेचीनगर नगरपालिका-५, मेचीडाँडाका ६० परिवारसँग रकम असुली गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । आरोपीले पीडितसँग लाखौं रकम असुलेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार जग्गाको नक्क्ली धनीपुर्जा बनाएर दिएको आरोप लागेका मेचीनगर-६ का ७५ वर्षीय भूपध्वज दाहाललाई प्रहरीले आज पक्राउ गरेको छ ।

अर्का आरोपी सोही वडाका ७३ वर्षीय ज्ञानबहादुर गिरी केही दिनअघि नै पक्राउ परेका थिए । वर्षौंदेखि ऐलानी जग्गामा बसोवास गर्दै आएका मेचीडाँडाका सुकुम्वासी परिवारसँग जग्गाको धनीपुर्जा थिएन । धनीपुर्जा बनाएर घरमै ल्याइदिने भन्दै स्थानीय तीन जनाले १० हजारदेखि ७० हजार रुपैयाँसम्म रकम असुली गरेको पीडितको भनाइ छ । आरोपीमध्ये फरार एक जनाको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

छ महिनाअघि जग्गाधनीको फोटो टाँसिएको र रातो मसीले सही गरिएको सरकारी छापसहितको जग्गा धनीपुर्जा पाउँदा स्थानीय सुकुम्वासी दंग थिए । तर, उनीहरूको यो खुसी लामो समय टिकेन । डेढ महिनाअघि केही जग्गाधनीले मेचीनगर-६ को वडा कार्यालयमा एकीकृत सम्पत्ति कर तिर्न जाँदा सो धनीपुर्जा नक्कली भएको खुलासा भएको थियो । वडामा जाँदा मात्रै सुकुम्वासीले धनीपुर्जाको नाममा ठगिएको पत्तो पाएका थिए ।

रकम असुलेर नक्कली धनीपुर्जा दिने व्यक्तिविरुद्ध पीडितले जिल्ला प्रशासन कार्यालय, झापामा किटानी जाहेरी दिएका छन् भने जिल्ला प्रशासनले घटनाको अनुसन्धान गर्न प्रहरी निकायलाई निर्देशन दिएको छ । ऐलानी तीन धुर जग्गामा बसोवास गर्दै आएकी मेचीनगर-६ की सरस्वती बरालले वडा कार्यालयमा तिरो बुझाउन जाँदा त्यहाँका कर्मचारीहरूले धनीपुर्जा नक्कली भएको जानकारी गराएको बताइन् ।

‘गाउँकै भूपध्वज दाहाल र ज्ञानबहादुर गिरीले ५० रुपैयाँ हजार दिनू, धनीपुर्जा बनाएर ल्याइदिन्छु भनेपछि ३५ हजार रुपैयाँ बुझाएकी थिएँ,’ ठगीको शिकार भएकी सरस्वती बरालले भनिन्, ‘वडामा तिरो बुझाउन जाँदा पो धनीपुर्जा नक्कली हो भनिदिए । मेरो पैसा पनि गयो, धनीपुर्जा पनि कीर्ते पर्‍याे ।’

वडा कार्यालयका कर्मचारीले कम्युटरमा धनीपुर्जाको कित्ता नम्बर भिडाउँदा नभेटिएपछि पीडित बराल वडा कार्यालयमै केही बेर बेहोस भएकी थिइन् । सो बस्तीका ५९ जनाले वडा कार्यालयमा गएर धनीपुर्जाको कित्ता नम्बर भिडाउँदा नभेटिएपछि गाउँमा बाँडिएका सबै धनीपुर्जा कीर्ते भएको प्रमाणित भएको थियो । हाल सो गाउँका पीडितको रुवाबासी छ । कतिले चर्को ब्याजमा ऋण काढेर धनीपुर्जाका लागि रकम बुझाएका थिए ।

धनीपुर्जा बनाइदिन्छु भनेर रकम असुली गर्नेविरुद्ध पीडितले गत चैत १७ गते वडा कार्यालयमा उजुरी दिएका थिए । वडाले पीडितको रकम फिर्ता गराउनका लागि गरेको प्रयास असफल भएपछि जिल्ला प्रशासन कार्यालयलाई पीडितले गुहारेका हुन् । अब यो मुद्दा प्रशासनको न्यायिक कठघरामा पुगेको छ ।

गिरी र दाहालका परिवारले पीडितलाई आधा रकम फिर्ता गरिदिने भन्दै वैशाख १० गते गाउँमै छलफल चलाएर घटनालाई सामसुम पार्न खोजेका थिए । छलफलमा सहमति भएअनुसारको म्यादभित्र रकम फिर्ता भएन । पीडित अहिले न्याय खोज्दै जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धाइरहेका छन् ।

सोही ठाउँकी अर्की पीडित मीना खनालले ६५ हजार रुपैयाँ दिएपछि आरोपीहरूले छ धुरको धनीपुर्जा बनाएर ल्याइदिएको बताइन् । रकम असुली र धनीपुर्जा लेनदेनमा वृद्ध व्यक्ति प्रत्यक्ष रूपमा जोडिएता पनि कुनै ठूलो गिरोह यस धन्दामा संलग्न हुन सक्ने पीडितले आशंका गरेका छन् । नेकपा (एमाले) मेचीनगरले एक प्रेस विज्ञप्ति प्रकाशित गरी कीर्ते धनीपुर्जा बनाएर सुकुम्वासीसँग रकम असुलिएको घटनाको गहिरो छानबिन हुनुपर्ने माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रिजालले ठगिएको भन्दै उजुरी दिन आउने पीडित बढिरहेको बताए । पक्राउ परेका आरोपीविरुद्ध कीर्ते जालसाझी मुद्दाअन्तर्गत कानूनी कारबाही हुने उनले बताए । -रासस

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर