पोर्चुगलको समुद्री किनारबाट एक नेपाली बेपत्ता

पोर्चुगलको तोरेस भेद्रासस्थित समुद्री किनारबाट एक नेपाली युवा बेपत्ता भएका छन् । समुद्रको छालमा परी अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–६ खिल्जीका २५ वर्षीय भुपाल दमासे बेपत्ता भएका हुन् ।

बुधवार दिउँसो तोरेस भेद्रासस्थित सान्तारिता समुद्री किनारबाट दमासे एक्कासि बेपत्ता भएका सँगै गएका उनका साथी कुशल सुवेदीले जानकारी दिए ।

‘हामी ३ जना समुद्री किनारमा बस्ने भनेर गएका थियौं । मैले र अर्को १ जना साथीले बस्ने ठाउँ मिलाउँदै थियौं । एक्कासि १ जना पोर्चुगिज नागरिकले तिमीहरूको साथी समुद्रको छालमा पर्‍यो भन्दै चिच्याए,’ घटना सुनाउँदै सुवेदीले भने, ‘हामीले समुद्रमा हेर्दा भुपाललाई कतै देखेनौं, किनारमा उसको चप्पल मात्रै देख्यौं । त्यसपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गर्‍यौं ।’

उनी समुद्रमा बेपत्ता भएको विषयमा उनका परिवारलाई जानकारी गराइएको छ । उनको खोजबिन गर्न र घटनाको सत्यतथ्य पत्ता लगाउन लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावास र गैरआवासीय नेपाली संघ पोर्चुगललाई आग्रह गरिएको छ ।

बेपत्ता भएका दमासेको समुद्रमा खोजी भइरहेको र हालसम्म नभेटिएको स्थानीय प्रहरीलाई उदृत गर्दै गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रबिन अधिकारीले जानकारी दिए । दमासे वैदेशिक रोजगारीको सिलसिलामा ३ वर्षअगाडि पोर्चुगल आएका थिए । उनी तोरेस भेद्रासस्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *