श्रमिकहरूलाई शिक्षा र स्वास्थ्यको निःशुल्क सेवा दिनुपर्छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यले श्रमिकहरुलाई शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क दिनुपर्ने बताएका छन्।

सोमबार १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टी संवद्ध ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले श्रमिकहरुलाई निःशुल्क रुपमा शिक्षा र स्वास्थ्यको सेवा दिनुपर्ने बताएका हुन्।

उनले श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै श्रमिकहरुको मर्यादा, सुरक्षा र जिविकाको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने बताए। सबै श्रमिकहरुलाई सरकारले स्वास्थ्य बीमाको दायरामा ल्याउनुपर्ने पनि उनको भनाइ छ। अध्यक्ष लिङदेनले श्रमिकहरुलाई सूचिकृत गर्ने र परिचयपत्रको व्यवस्था गर्न माग गरे।

उनले भने, ‘राज्यको निर्माणमा सबभन्दा ठूलो योगदान पुर्‍याउने श्रमिक क्षेत्र राज्यको क्षेत्रबाट सबभन्दा धेरै उपेक्षित छ। सबैको अस्पताल छन्। तर श्रमिकहरुको अस्पताल छैनन्। म यतिबेला ट्रेड युनियनहरुलाई भन्न चाहन्छु, अबको ट्रेड युनियन आन्दोलन भनेको श्रमिकहरुको मर्यादा, सुरक्षा र जीविकाको सुरक्षातर्फ हुनुपर्दछ भन्ने मलाई लाग्दछ। श्रमिकहरुको स्वास्थ्य र उनका बालबालिकाको शिक्षाको सुनिश्चितताको व्यवस्था सरकारले गरिदिनुपर्छ।’

अध्यक्ष लिङ्देनले देश बाहिरबाट श्रम इजाजतबिना नेपाल आएर व्यक्तिहरुले काम गरिरहेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए। देशका श्रमिकहरुलाई प्राथमिकताका साथ देशभित्रै कामको अवसर दिनुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *