आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण गरेको छ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वार्षिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण गरेको हो। सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भए पनि ५.८४ प्रतिशतले लक्ष्य पूरा नभई २.१६ प्रतिशतमा नै सीमित हुने तथ्यांक कार्यालयले अनुमान गरेको छ।

गत आर्थिक वर्ष २०७८/७९ मा ५.२६ हुने संशोधित प्रक्षेपण रहेको थियो। उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ। तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारभिक अनुमान रहेको बताए।

उनले नेपालको अर्थतन्त्रको आकार चालु आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान रहेको बताए। उनले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धिको अनुमान एशियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमानभन्दा कम रहेको पनि बताए।

उनले तथ्यांक बनाउँदा चालु आर्थिक वर्षको तीन महिना मुलुकको अर्थतन्त्र सामान्य रूपमा चल्ने र अर्थतन्त्रमा कुनै अफ्ठ्यारो नबनाउने किसिमले तयार बनाएको बताए। उनले चालु आर्थिक वर्षमा जीडीपीको उपभोक्ता मूल्यमा १.९ प्रतिशत रहने अनुमान रहेको बताए।

उनले अघिल्लो आर्थिक वर्षमा ५.८ प्रतिशतले जीडीपी वृद्धि हुने अनमान गरिएको भए पनि यस वर्ष ५.६ प्रतिशतको प्रक्षेपण गरिएको बताए। कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा २.७ प्रतिशत र गैरकृषि क्षेत्रको १.९ प्रतिशत हुने अनुमान गरिएको छ। अन्य वर्षहरूको भन्दा यो वर्ष गैरकृषिभन्दा कृषि क्षेत्रको वृद्धिदर बढेको छ।

उनले आर्थिक वृद्धिदर कम हुने अनुमानको प्रमुख तीन क्षेत्र कृषि, निर्माण र सेवा क्षेत्रमा आर्थिक गतिविधि कम हुनु रहेको बताए। उनले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको आर्थिक वृद्धिदर २.७ प्रतिशत, निर्माण क्षेत्रको ०.६ प्रतिशत र सेवा क्षेत्रको २.३ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको बताए।

चालु आर्थिक वर्षमा जीडीपीमा सेवा क्षेत्रले ६२.४ प्रतिशत, कृषि क्षेत्रले २४.६ प्रतिशत र उद्योग क्षेत्रले ५.३२ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा चालु मूल्यअनुसार कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा ८० खर्ब ९० अर्ब ६७ करोड रहने अनुमान रहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *