भुटानी शरणार्थी प्रकरणको सुरुवात बालकृष्ण खाण गृहमन्त्री हुँदादेखि भएको हो : शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा भएको आरोप लगाएका छन्।

एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाणको मुख्य योजनामा सो प्रकरणको सुरुवात भएको उनको दाबी छ।

पार्टी निकट युवाहरूको संगठन राष्ट्रिय युवासंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रमाथि घात हुने खालको सो प्रकरणमा बदमासी अरूले गरे पनि आफ्नो पार्टीलाई दोषी सावित गर्ने धृष्टता भइरहेको बताए।

उनले सो अपराधमा संलग्नहरू भ्रष्टाचारविरोधी अभियानको नेताजस्तो गरेर हिँडिरहेको उल्लेख गर्दै उनीहरूलाई कडाभन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गरे।

महासचिव पोखरेलले तत्कालीन माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न वर्तमान सरकारलाई चुनौतीसमेत दिए। मुलुकमा भएका ठूलाठूला भ्रष्टाचारका काण्डहरूलाई छानबिन गर्न एमाले तयार भए पनि त्यसका लागि वर्तमान सरकार तयार नभएको उनले दाबी गरे।

महासचिव पोखरेलले कमजोर पार्टीको नेतृत्वमा सरकार बनेकाले पनि मुलुकको अर्थतन्त्र संकटमा पुगेको बताए। उनले देउवा नेतृत्वकै तत्कालीन पाँच दलीय गठबन्धनको सरकारले अनधिकृत व्यक्तिहरूलाई समावेश गरेर बजेट बनाउँदा मुलुकमा आर्थिक संकट आएको उल्लेख गर्दै सो घटनाको सत्यतथ्य बाहिर ल्याउन पनि आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर