भ्रष्टाचार र कमिसनको जालो तोड्न निरन्तर लागिपरेको छु : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताएका छन्।

बिहीबार बिहान आफूलाई भेट्न आएका प्रवास संयोजन समितिका सदस्य तथा प्रवासमा कार्यरत नेपाली बुद्धिजीवीहरूसँगको भेटमा श्रेष्ठले भ्रष्टाचारको जालो भताभुंग पार्न आफू निरन्तर लागिपरेको उल्लेख गर्दै यसमा नेपाली डायस्पोरा कम्युनिटीको पनि साथ चाहिने उल्लेख गरे।

बिहीबार बिहान श्रेष्ठको निवासमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको अन्त्य नगरी आर्थिक समृद्धि र देश विकास गर्ने कुरा सम्भव नरहेको उल्लेख गरे।

भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि सरकारले नछाड्ने बताएका श्रेष्ठले निर्दोषलाई नछुने बताए। ‘प्रमाण पुग्ने दोषी जोसुकै भए पनि सरकारले छाड्दैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘अनावश्यक र सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणबिना सरकारले कसैलाई पनि छुँदैन।’

उपप्रधानमन्त्री श्रेष्ठ माओवादी केन्द्रको प्रवास समन्वय समिति इन्चार्जसमेत हुन्। उनलाई माओवादी केन्द्रको प्रवास समन्वय समितिले बधाई तथा शुभकामना व्यक्त गरेको थियो। सरकारको यो कदमलाई विश्वभर रहेका नेपालीहरूको साथ र समर्थन रहेको केन्द्रले जानकारी गराएको थियो। साथै केही विषयमा श्रेष्ठको ध्यानाकर्षण पनि गराएको थियो।

समन्वय केन्द्रले ठगी, मानव तस्करी, सरकारी कागजात कीर्ते र राज्यविरुद्धको अपराध गर्नेहरूमाथि कडा कारबाही गर्न जरुरी रहेकोमा ध्यानाकर्षण गराएको थियो।

समन्वय केन्द्रको ध्यानाकर्षणपछि उपप्रधानमन्त्री श्रेष्ठले निर्दोष नपरून् भन्नेमा सरकार सचेत रहेको बताए। साथै दोषी देखिएकाहरूलाई कुनै पनि हालतमा नछाड्ने दृढता पनि व्यक्त गरे। यो कार्यमा आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले दह्रो साथ दिएको श्रेष्ठको भनाइ छ।

भेटमा प्रवास समन्वय केन्द्रले वैदेशिक रोजगारीका नाममा हुने ठगी र बेचबिखनलगायत प्रवासी नेपालको समस्या समाधानका लागि सरकारको नीति कार्यक्रममार्फत ‘अधिकारसम्पन्न आयोग’ गठन गर्नुपर्ने माग गरेको छ। त्यस्तै सरकारले गरेको कामको समर्थन गर्न सम्पूर्ण पार्टीपङ्क्ति एकताबद्ध हुनुपर्ने खाँचो पनि औंल्याइएको छ।

प्रवास समन्वय केन्द्रका अध्यक्ष ओम शर्माको नेतृत्वमा गएको टोलीमा सहइन्चार्ज लक्ष्मण पन्त, सचिव टेकबहादुर पाठक, कार्यालय सदस्य इन्द्रराज भट्टराई, सदस्यहरू सुरेन्द्र भुसाल, मनऋषि धिताल, डा. कृष्णकुमार श्रेष्ठ, रमेश तिवारी, हर्क थापालगायतको उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर