काठमाडौंमा एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौँमा एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

जनकल्याण सामाजिक केन्द्रले आज काठमाडौँमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा वातावरण कार्यक्रममा उजले काठमाडौँभित्रको विकासका लागि एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका हुन् ।

‘काठमाडौँभित्रका सडकमा आवश्यक समन्वय नहुँदा भत्काउने र बनाउने क्रम चलेको छ, सबै निकायको आवश्यक समन्वय गरी एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ,’ उनले भने ।

काठमाडौँ क्षेत्र नं. ५ का सांसद पौडेलले काठमाडौँ उपत्यकाभित्रको विकासका लागि सुविधासम्पन्न प्राधिकरण निर्माण गर्नुपर्ने बताए । काठमाडौँ संसारको प्रदूषित सहर बन्दै गएकाले यसलाई सफा, सुन्दर र हराभरा बनाउन नागरिक स्तरबाट लाग्नुपर्ने उनको भनाइ थियो ।

नेता पौडेलले खोला क्षेत्रको वरपर करिडोर निर्माण गरेर त्यहाँ वृक्षरोपण गर्न सकेमात्र काठमाडौँको वातावरण राम्रो हुने बताए । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद जगदीश्वरनरसिंह केसीले काठमाडौँलाई स्वच्छ, सुन्दर र हराभरा बनाउन व्यक्तिबाटै पहल हुनुपर्ने बताए ।

काठमाडौँभित्र भद्रगोल विकासलाई अन्त्य गर्दै व्यवस्थित विकासमा सबै लाग्नुपर्ने उनको भनाइ थियो । नेता केसीले निरोगी र स्वस्थ्य मानिस बन्नका लागि व्यक्ति स्वयम् लाग्नुपर्ने बताए । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले तारकेश्वरभित्र आयुर्वेद अस्पताल निर्माणका लागि नगरपालिकाले पहल गरिरहेको बताए ।

यस्तै साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा डायलासिस सेवा प्रदान गर्न नगरपालिकाले काम सुरु गरिसकेको उनको भनाइ थियो । वातावरण संरक्षणका लागि नपाले काम गरिरहेको नगरप्रमुख महर्जनले बताए । वि. सं. २०७० मा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले काठमाडौँको उत्तरी क्षेत्रको टोखा र तारकेश्वर क्षेत्रमा सामाजिक काम गर्दै आएको छ । सो केन्द्रले हालसम्म देशका विभिन्न दुई सयभन्दा बढी क्षेत्रमा पुगेर स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सञ्चालन गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *