व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रको पछिल्लो अवस्था र सूचकका बारेमा आज छलफल गरेका छन् ।

उनले नेपाली उद्योगी व्यवसायीलाई ‘प्रमोट’ गर्नेजस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिने र बढीभन्दा बढी नेपाली उद्योग तथा व्यवसायलाई प्रवर्द्धन गर्ने नीतिमा क्रियाशील रहने बताए । अर्थमन्त्री डा. महतले भने, ‘ज्ञानलाई सम्पूर्ण रूपमा उपयोग गरेर सिस्टममा भएको समस्यालाई धकेल्ने हो । समस्यालाई कसरी धकेलेर बाहिर निकाल्ने हो भन्ने कुरामा सबै जानकार हुनुहुन्छ ।’

छलफलमा उनलाई सांसदहरूले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा राखेका थिए । सांसदहरूको प्रश्नको जवाफमा डा. महतले भने, ‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन तर हामी नेपालमै अवसर सिर्जना गर्दै लैजाने हो । यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ । यसमा दुई मत छैन । युवाको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौँ ।’

उनले देशभित्र उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालमा अहिले जुन उद्योग व्यवसाय छ । त्यसमा धेरैजसो हाम्रो ‘भ्यालु एडिशन’ कम छ । हामी चाहन्छौँ यो भ्यालु एडिशन ज्यादाभन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ ।’

अर्थमन्त्री महतले अर्थतन्त्रको सुधारका लागि आफ्नो ज्ञान र अनुभवलाई उपयोग गर्ने, ठूलो स्वरमा कुरा नगर्ने प्रतिवद्धता व्यक्त गरे । ‘सुधारको आवश्यकता छ । यसलाई इमान्दारिका साथ काम गर्छु तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिन, अवश्य पनि नीति कार्यक्रममा क्रमशः सुधार गरिने छन्, धेरैजसो यसपाली गरिनेछ, कतिपय कुरा क्रमशः गरिँदै लगिनेछ ।’

विकास निर्माणको काम र योजनामा कार्यान्वयनमा नै मूल चुनौती देखिएको जनाउँदै उनले आर्थिक वर्षको नौ महिनापछि स्रोत उपलब्ध गराइदिनुपर्यो भनेर आउने प्रवृत्तिलाई निरुत्साहित गरिएको बताए ।

उनले भने, ‘पुँजीगत खर्च, राजस्व परिचालनले गुणस्तरीय उत्पादन हुन्छ कि हुँदैन भन्नेमा मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ । मैले आफ्नो टिममा यी कुरा बलियोसँग राखेको छु । सिस्टमबाट आएका कुरा ठीक छन कि छैनन् भनेर सबै कुरा दिनरात हेरिरहेको छु । यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन । यहाँ देश र जनताको कुरा छ । म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु ।’

राजस्व घटेको स्थानमा आफूले हेरिरहेको उल्लेख गर्दै उनले भने, ‘अहिले राजस्व कम उठ्यो । त्यही आधारबाट माथि उठेर हामीले कामको सुरुवात गरेका छौँ । त्यसलाई हामी सुधार गर्छौँ । यति गर्दागर्दै पनि यो आर्थिक वर्षमै गति लिएर ३५-४० प्रतिशत बढी राजस्व उठाउन सक्छु भन्ने अवस्था छैन ।’

वैदेशिक ऋणले अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन यसको समीक्षा हुन जरुरी रहेको उनको भनाइ छ । सो सन्दर्भमा समीक्षा गरेर आवश्यकताअनुसार ऋण ल्याउन पनि आजको भोलि नै सम्भव नभएको उनको भनाइ छ ।

उनले भने, ‘यसको पनि सीमा छ, योसँगै हामीले खर्च गर्ने क्षमता पनि देखाउन आवश्यकता छ । हाम्रो साँवा र ब्याज एकदमै बढ्दै गएको छ । भूकम्पका बेलामा लिएको ऋणको पनि भुक्तानी भइसकेको छैन । ऋण भुक्तानीमा हामीले ध्यान केन्द्रित गर्न थाल्यौ भने साधारण र पुँजीगत खर्चमा दबाब सिर्जना हुन्छ ।’

उनले आफ्नो क्षमता र योग्यताले भ्याएसम्म प्रणालीमा देखिएको समस्या समाधान गर्न प्रयत्नरत रहने बताए । उनले अवरोध पन्छ्याउँदै स्पष्ट मार्गचित्र कोर्न इमान्दार र समर्पणका साथ काम गर्दै जाने उल्लेख गरे ।

बैठकमा सांसदहरू सूर्यबहादुर थापा, पदम गिरी, डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्री डा. महतसँग अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा जिज्ञासा राखेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर