हिन्दू राष्ट्रको पक्षमा बोल्न भाजपाबाट पैसा लिएको अमेरिकी दाबीप्रति राप्रपाको आपत्ति

प्रतिवेदन संशोधन गर्न माग गर्दै अमेरिकी दूतावासलाई पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दू राष्ट्रको पक्षमा वकालत गर्न भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) बाट रकम लिएको अमेरिकी विदेश मन्त्रालयको आरोपको खण्डन गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्र लेख्दै राप्रपाले अमेरिकी विदेशमन्त्रीले सार्वजनिक गरेको ‘धार्मिक स्वतन्त्रता प्रतिवेदन’ मा गरिएको दाबीको खण्डन गरेको हो।

प्रतिवेदनमा लगाइएको आरोप तथ्यहीन र पूर्वाग्रही रहेको राप्रपाले जनाएको छ। उक्त आरोपको खण्डन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी दूतावासलाई लेखेको पत्रमा प्रतिवेदनमा राप्रपाविरुद्ध आधारहीन आरोप लगाइएको उल्लेख छ।

राप्रपा संवैधानिक राजतन्त्र, मानव अधिकार तथा सम्पूर्ण धर्महरूलाई समान सम्मान तथा स्वतन्त्रतासहितको हिन्दू राज्यको पक्षमा रहेको पत्रमा उल्लेख छ। केन्द्रदेखि स्थानीय तहसम्म सोही कुराको वकालत गर्दै आएकोमा हालै मात्र अमेरिकाको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा राप्रपालाई जोडेर गरिएको दाबी सरासर झुटो र आधारहीन रहेको लिङ्देनले बताएका छन्।

प्रतिवेदनमा नागरिक समाजका सदस्यहरूको भनाइलाई उद्धृत गर्दै निष्कर्ष निकालेको जनाइए पनि ती नागरिक समाजका सदस्यहरू को हुन् भन्ने उल्लेख छैन। यसबाहेक राप्रपाको धारणा समावेश नगरिएकोमा पनि पत्रमा आलोचना गरिएको छ।

‘उक्त प्रतिवेदन एकतर्फी, पूर्वाग्राही, असुन्तलित र अविश्वनीय छ,’ पत्रमा भनिएको छ। राप्रपाले अमेरिकी विदेशमन्त्रीको प्रतिवेदनलाई पुनरवलोकन र संशोधन गर्न सुझाव दिएको छ।

यो प्रतिवेदनले राप्रपाको छविलाई धमिलो बनाउने र आम मानिसमा गहिरो आघात पुग्ने हुँदा यी आधारहीन आरोपमा सुधार गर्नका पनि राप्रपाले आह्वान गरेको छ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि अमेरिकी आरोपको सामाजिक सञ्जालमा खण्डन गरेका छन्। मिश्रले सुनेकै आधारमा कैयौं गम्भीर आरोपहरू लगाइएको बताएका छन्।

‘प्रतिवेदनले ती आरोपहरू पुष्टि हुने प्रमाण दिएको छैन। नागरिक समाजको भनाइ भन्दै आधारहीन कथनहरू समेटेको छ’, मिश्रले शुक्रबार ट्विटरमा लेखेका छन्,‘जहाँसम्म म आबद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीको कुरा छ, राप्रपा विश्वभरका देश तथा सम्बन्धित दल र समूहहरूसँग मित्रवत् सम्बन्ध राख्न चाहन्छ। राप्रपा कैयौं दशकदेखि संयुक्त राज्य अमेरिकाले नेपाललाई पुर्‍याइरहेको सहयोगको प्रशंसा गर्दछ। तर राप्रपा कुनै पनि प्रकारका विदेशी दबाब स्वीकार गर्दैन।’

उक्त अमेरिकी प्रतिवेदनबारे नेपाल सरकारले आधिकारिक धारणा सार्वजनिक गर्ने अपेक्षा पनि मिश्रले गरेका छन्।

प्रतिवेदनलाई छिमेकी मुलुक भारतले पनि आधारहीन र झुटो भनेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *