अर्थ समितिमा रास्वपा सांसद श्रेष्ठ र अर्थमन्त्री महतबीच भनाभन

अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ। सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरू दोहर्‍याएको भन्दै अर्थमन्त्रीले जिज्ञासा मात्रै राख्नु भनेपछि दुईबीच भनाभन भएको हो।

समितिको बैठकमा बोल्ने क्रममा सांसद श्रेष्ठले डाँडाको टुप्पोमा भ्युटावर भनेको कस्तो बेवकुफ भन्ने शब्द प्रयोग गरेपछि मन्त्री महतले पुराना कुरा भन्न्दा पनि अर्थतन्त्र र बजेटको बारेमा जिज्ञासा राख्न आग्रह गरेका थिए। सोही विषयलाई लिएर सांसद श्रेष्ठले साना कुराहरूमा आत्मनिर्भर बन्नुपर्ने बताए।

मन्त्री महतले आफूले यस्ता विषयहरू बुझिसकेको भनेपछि पुनः सांसद श्रेष्ठले निजी क्षेत्रले सरकारलाई विश्वास गर्न नसकेको कुरा उठाए। उनले वित्तीय संस्थालाई नियमन कसरी गर्ने र तीन खम्बे अर्थनीतिको कुरा गरेपछि पुनः मन्त्री महतले आफूले यसबारेमा बुझिसकेको प्रतिक्रिया दिए।

साथै मन्त्रीले आफूलाई ढिला भइसकेको भनेपछि सांसद श्रेष्ठले मन्त्री महतलाई हतार नगर्न आग्रह गरे। साथै सांसद श्रेष्ठले मन्त्री महतले लामो जवाफ दिइरहेको र त्यसको कारण सांसदहरूले प्रश्न गर्न नभ्याएको बताए।

लगत्तै सांसद श्रेष्ठले लाखौं रुपैयाँ खाएर सहकारी भागिरहेको, खर्बौं रुपैयाँ वित्तीय प्रणालीमा नरहेको भन्दै देशमा आर्थिक संकट नभए के लक्ष्मी भगवान आएर बस्छन् भन्ने प्रश्न गरे । उनले फेरि मन्त्री महतलाई यो कुरा कहाँ ध्यानाकर्षण गराउने भन्दै प्रश्न गरे।

साथै हतार भयो भनेर नहुने भन्दै कि बैठक नै राख्न नहुने बताए। उनले मन्त्री महतलाई हतार भए जानुहोस् भन्दै असहमति प्रकट गरे। सांसद श्रेष्ठको जवाफपछि मन्त्री महतले आफूले यसबारेमा धेरै पटक सुनिसकेको र जिज्ञासा राख्न आग्रह गरे। यसको जवाफमा सांसद श्रेष्ठले बुझिसकेको भए अर्थतन्त्रमा किन संकट छ भन्दै प्रश्न गरे।

मन्त्री महत र सांसद श्रेष्ठबीचको भनाभन जस्ताको तस्तै :
विराजभक्त श्रेष्ठ : पुँजीगत खर्च भनेको पुँजीगत खर्च होइन, पुँजीगत लगानी हो। त्यसले त प्रतिफल दिनुपर्छ हामीलाई। त्यो प्रतिफल कहिले र कति आउँछ भन्ने हामीसँग आकलन हुँदैन। उदाहरणको लागि गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लिए पुग्छ। हाम्रा योजना मन गढन्ते हुन्छन्। एक पटक भ्युटावरको कल्चर आएको थियो, डाँडाको टुप्पोमा भ्युटावर भनेको कस्तो बेवकुफ हो? डाँडा आफैं भ्युटावर हो नि त। व्यापार घाटामा कतै न कतै अवसर लुकेको छ। १३ करोडको धनिया आयात गर्छौं त्यसमा धनियाँमा आत्मनिर्भर बनौँ न।

अर्थमन्त्री : भ्युटावरको कुरा मैले संसददेखि सुनेको सुन्यै छु। यो कुराको ग्रहण गरिसकेँ।

सांसद श्रेष्ठ : निजी क्षेत्रले सरकारलाई विश्वास नै गर्न सकेको छैन। वित्तीय संस्थालाई नियमन कसरी गर्ने? हामीले तीन खम्बे अर्थनीतिको कुरा गरेका छौं। सहकारी बेस लाइन अर्थतन्त्र हो यो।

अर्थमन्त्री : बुझेँ बुझेँ।

सांसद श्रेष्ठ : मन्त्रीज्यू, हतार नगर्नुस् न । जवाफ नै लामो दिइराख्नुभएको छ तपाईंले। प्रश्न सोध्दा तपाईंलाई ध्यानाकर्षण त गराउनुपर्छ नि। लाखौं रुपैयाँ खाएर सहकारी भागिरहेको छ। खर्बौं रुपैयाँ वित्तीय प्रणालीमा छैन। अनि देशमा आर्थिक संकट नभए के लक्ष्मी भगवान आएर बस्छन्? यो कुरा हामीले कहाँ ध्यानाकर्षण गराउने ? तपाईंलाई हतार भयो भनेर हुन्छ? कि बैठक नै राख्नुभएन। सभापतिज्यू, यस्तो हो भने बैठक नै नराखिदिनुहोस्। उहाँलाई हतार छ, ठीक छ जानुहोस्।

अर्थमन्त्री : तपाईंहरूले पटक-पटक यी कुराहरू राख्नुभएको छ, जिज्ञासा मात्रै राख्नुस् न। मैले ग्रहण गरेको छु। व्याख्यात्मकभन्दा जिज्ञासामा जानुहोस्। यो कुरा बुझेको छु।

सांसद श्रेष्ठ : बुझेको भए संकट किन छ?

अर्थमन्त्री : संकट मैले आजको आजै संकट समाधान हुन्छ र? त्यसको लागि म इमान्दार प्रयास गर्छु।

सांसद श्रेष्ठ : आजको बैठकको औचित्य के?

अर्थमन्त्री : सभापतिज्यूले बोलाएर म आएको हो नि।

सांसद श्रेष्ठ : तपाईं त समितिप्रति जवाफदेही हुनुहुन्छ नि। हाम्रो औपचारिक प्रणालीबाट खर्बौं रुपैयाँ बाहिर छ, त्यसलाई नियमन गर्नुहोस्। त्यसले पनि असर गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर