सरकारको नीति तथा कार्यक्रममा जनयुद्ध शब्द उल्लेख भएकोप्रति योगेश भट्टराईको आपत्ति

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा जनयुद्ध शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामै जनयुद्ध शब्दको प्रयोग भएको भन्दै आपत्ति जनाएका हुन्।

उनले नेपालको कुनै पनि सरकारी दस्तावेजहरूमा यो शब्द हालसम्म उल्लेख नभएको भन्दै यसपटक प्रधानमन्त्रीले राष्ट्रपतिको मुखबाट जनयुद्ध शब्द वाचन गराउन लगाएको बताए। उनले नेपाली कांग्रेसले जनयुद्ध शब्दलाई स्विकारेमा नेपाली कांग्रेसको अन्त्य हुने बताए।

उनले भने, ‘सम्बोधनको पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ। यहाँ विगतमा भएका आन्दोलनहरूको व्याख्या गर्दै जनयुद्ध भन्ने शब्द पनि यहाँ उच्चारण भएको छ। यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो। ०७२ सालको संविधानपछि नेपालका कुनै पनि सरकारी दस्तावेजहरुमा यो शब्द उल्लेख भएको छैन। पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहालजीले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभएको छ।’

भट्टराईले नीति तथा कार्यक्रममा महिला, दलित र पिछडिएका क्षेत्रका वर्ग र समुदायहरूको बारेमा उल्लेख नभएको बताए। त्यसैगरी पहाड र हिमालका मानिसहरू बसाइँसराइ गरिराखेको सन्दर्भमा सोही ठाउँमा मानिसहरूलाई अड्याउनका लागि सरकारले ध्यान नपुर्‍याएको उनले बताए।

सांसद भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु गल्ती नभएको बताए। ती विमानस्थलहरूलाई व्यावसायिक प्रतिफल प्राप्त हुने गरी सञ्चालन गर्न नसक्नु सरकारको असफलता भएको उनले बताए।

उनले सरकारले भारत सरकारसँग हवाई सम्झौताअनुसार हवाई मार्ग प्राप्त गर्न सक्ने कूटनैतिक ल्याकत राख्न नसकेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर