‘ए’ डिभिजन लिग : फ्रेण्ड्सविरुद्ध आर्मीको जित, चर्च ब्वाइज र हिमालयन शेर्पा बराबरीमा

राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबलाई पराजित गर्दा अर्को खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पासँग बराबरी खेलेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दा चर्च ब्वाइजले हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको हो । जितसँगै आर्मी लिग तालिकाको पाँचौ स्थानमा पुगेको छ भने फ्रेण्ड्सलाई रेलिगेशन डर कायमै रहेको छ ।

सोमबार आर्मीलाई जित दिलाउनका लागि जगजित श्रेष्ठले २६ औं मिनेटमा शुरुवाती गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । नवयुग श्रेष्ठले ७५औं मिनेटमा गोल गर्दा सुदिल राईले इन्जुरी समयमा गोल थप्दै टोलीलाई स्पष्ट अंक दिलाउन सफल भएका हुन् । यस जितसँगै आर्मीको २० खेलबाट २९ अंक छ भने पराजित फ्रेण्ड्सको समान २० खेलबाट २१ अंक भएको छ ।

लिगअन्तर्गत सोमबार नै भएको अर्को खेलमा शुरुवाती अग्रता लिएको चर्च ब्वाईजले अग्रता कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजका लागि अञ्जन बिष्टले १३ औं मिनेटमा गोलको खाता खोलेका थिए । तर अग्रता हिमालय शेर्पाले ३६ औं मिनेटमा तोडिदियो । अबायोमी फाकुन्लेले ३६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । बाँकी समयमा दुवै टोलीले थप गोलका लागि प्रयास गरेपनि सफल हुन सकेनन् र उपाधि होडमा रहेको चर्च ब्वाईजलाई धक्का लागेको छ । यससँगै चर्च ब्वाइज २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । हिमालयन २० खेलमा २६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

लिगमा मंगलबार तीन खेल हुनेछन् । पहिलो खेलमा थ्री स्टार र नेपाल पुलिस तथा दोस्रो खेल सातदोबाटो युथ क्लव र खुमलटार युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *