व्यवस्था फेरियो, अवस्था फेरिएन : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सके मानव अधिकार उल्लंघन नहुने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले क्षेत्राधिकारभित्र रहेर मानव अधिकारका विषयमा काम गरिरहेको जानकारी दिए । उनले व्यवस्था फेरिए पनि अवस्था नफेरिएकामा चिन्ता व्यक्त गरे ।

‘सरकार र सरकारी निकाय चनाखो हुनुपर्छ, नैसर्गिक अधिकार हनन भइरहेको छ कि भनेर सोचेर काम गर्नुपर्छ, अब काम गर्ने तौरतरिका फेरिनुपर्छ,’ मुख्यमन्त्री जम्कट्टेलले भने, ‘हामी सबै मानव अधिकारमैत्री बन्नुपर्छ र संरक्षण गरेर अन्तरविरोधी हुने खालको कामको अन्त्य गरिनुपर्छ ।’

उनले प्रदेशको भूगोल, जनजाति, भाषा, धर्म संस्कृति धेरै रहेकाे उल्लेख गर्दै समावेशी रूपमा काम गर्न नीतिमा केही समस्या रहेको बताए । उनले भने, ‘आर्थिक, सामाजिक, राजनीतिकलगायतमा सहजता भए पनि कार्यान्वयनमा समस्या छ ।’

आयोगको प्रदेश कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारी, प्रदेश सरकारका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान र मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायतले मानव अधिकारका विषयमा आ–आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर